नवलपुरमा चुनावी सरगर्मी बढयो

NAWALPUR TIMES

नवलपुरमा चुनावी सरगर्मी बढयो
20221009 150251 scaled

कावासोती(रासस)। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपुरमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ। दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थालेको हो। जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको छ।

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोका रुपमा हेरिएको छ भने क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेका केन्द्रीय सदस्य तिलबहादुर महतबीच प्रतिस्पर्धा हुने देखिएको छ। कोइराला र महत यसअघि पनि क्रमशः क्षेत्र नं १ र २ बाट निर्वाचित हुनुभएको थियो।

जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्व जजिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारी चुनाबी मैदानमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने क्षेत्र नं १ को ‘ख’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिएका छन्।

त्यसैगरी क्षेत्र नं २ मा प्रदेशसभातर्फ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सौगमकुमार सिरपाली र एमालेबाट पद्ममा जिसीको उम्मेदवारीलाई चासोका रुपमा हेरिएको छ भने प्रदेशसभातर्फ ‘ख’मा सत्ता गठबन्धनबाट नेकपा एसका डा गोपाल खनाल र एमालेका लक्ष्मणबहादुर पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

निर्वाचनको तयारीस्वरूप सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षीदलले बैठक र भेला सुरु गर्न थालेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपालगायतका दलले बैठक र भेलालाई तीव्रता दिएका हुन्।

दुई लाख ६० हजार चार सय ६१ मतदाता

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि नवलपुरमा मतदाताको सङ्ख्या दुई लाख ६० हजार चार सय ६१ पुगेको छ। दुई वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र रहेको जिल्लामा एक लाख २४ हजार तीन सय ३६ पुरुष, एक लाख ३६ हजार एक सय २१ महिला र अन्य चार मतदाता रहेका निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा जनाइएको छ।

आयोगका अनुसार जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र अन्य एक जना गरी जम्मा एक लाख ३१ हजार एक सय ८१ र प्रतिनिधिसभा क्षेत्र नं २ मा ६१ हजार सात सय ४० पुरुष र ६७ हजार पाँच सय ३७ महिला र अन्य तीन जना गरी एक लाख २९ हजार दुई सय ८० मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन्।

प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा ३० हजार चार सय ५५ पुरुष, ३३ हजार ०८० महिला गरी ६३ हजार पाँच सय ३५, प्रदेशसभा १ ‘ख’ मा ३२ हजार एक सय ४१ पुरुष, ३५ हजार पाँच सय चार महिला र अन्य एक गरी ६७ हजार छ सय ४६ मतदाता रहेको आयोगले जनाएको छ।

त्यस्तै प्रदेशसभा २ को ‘क’ मा ३० हजार नौ सय ४३ पुरुष, ३३ हजार पाँच सय ७४ महिला र अन्य एक गरी ६४ हजार पाँच सय १८, प्रदेशसभा २ को ‘ख’ मा ३० हजार सात सय ९७ पुरुष, ३३ हजार नौ सय ६३ महिला र दुई अन्य गरी जम्मा ६४ हजार सात सय ६२ मतदाता रहेको आयोगले जनाएको छ।

त्यस्तै निर्वाचन आयोगले जिल्लामा आगामी निर्वाचनका लागि एक सय १३ मतदानस्थल र तीन सय दुई वटा मतदान केन्द्र रहने जनाएको छ। प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा ५७ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र र क्षेत्र नं २ मा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन्।

६८ जना उम्मेदवार

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपुरमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएकामा आठ जनाले उम्मेदवारी फिर्ता गरेपछि उम्मेदवारी दिनेको सङ्ख्या ६८ जना पुगेको छ। दुई सङ्घीय निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा पाँच महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology