कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकामा विगतमा पहिरो गएको एक स्थानबाट लगातार धुवाँ निस्किरहेको पाइएको छ। हुप्सेकोट गाउँपालिका वडा नं. ६ पेलगा स्थित घाँगी भिरमा विगत २–३ महिनादेखि जमिन भित्रबाट बारुदको जस्तो पिरो गन्ध आउने धुवाँ निस्किरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
बिहीबार (आज) बिहान ११:०० बजेको समयमा स्थानीय बासिन्दाले पहिरो गएको ठाउँबाट रहस्यमय रूपमा धुवाँ निस्किरहेको खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले स्थानीयसँग बुझ्दा उक्त स्थानमा विगत केही महिनादेखि नै निरन्तर यस्तो धुवाँ निस्किरहेको र त्यहाँबाट बारुद जस्तो पिरो गन्ध समेत आइरहेको पुष्टि भएको हो।
नजिकैको बस्ती जोखिममा पर्ने खतरा
धुवाँ निस्किरहेको उक्त घाँगी भिरबाट करिब १ किलोमिटर उत्तरतर्फ पेलेगा गाउँ रहेको छ, जहाँ झन्डै ३० देखि ३५ घरधुरी बसोबास गर्छन्। जमिन भित्रबाट लगातार निस्किएको धुवाँ र गन्धका कारण स्थानीय बासिन्दामा त्रास फैलिएको छ।
जमिनमुनि कुन तत्वका कारण रासायनिक प्रतिक्रिया भई यसरी धुवाँ र गन्ध निस्किएको हो भन्नेबारे अनुसन्धान र वैज्ञानिक परीक्षण आवश्यक देखिएको छ। प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइसकेको जनाएको छ।
Facebook Comment