कहिलेकाहीँ एउटा खबरले शब्दहरूलाई पनि निःशब्द बनाइदिन्छ। आज बिहान त्यस्तै भयो। फोनमा आएको एउटा दुःखद खबरले मन भारी बनायो— केशव पराजुली दाइ अब हामीबीच रहनुभएन।
पहिलो पटक यो खबर सुन्दा मनले विश्वास गर्न मानेन। लाग्यो, केहीबेरमा कसैले भन्नेछ— “यो हल्ला मात्र रहेछ।” तर जीवनको सबैभन्दा ठूलो सत्य मृत्यु रहेछ, जसलाई न मनले अस्वीकार गर्न सक्छ, न समयले रोक्न सक्छ।
आज हामी एउटा अग्रज पत्रकारको निधनमा मात्र शोक गरिरहेको छैन। हामीलाई आज एउटा अभिभावक गुमाएको पीडा भईरहेकाे छ । एउटा यस्तो व्यक्तित्व गुमाएको पीडामा, जसले हामीलाई पत्रकारिताको यात्रामा कहिल्यै एक्लो महसुस हुन दिएन।
मेरो र केशव दाइको पहिलो भेट २०६३ सालमा अरुणखोलामा भएको थियो। त्यो सामान्य भेट थियो, तर त्यसले असाधारण सम्बन्धको सुरुवात गरायो। पहिलो भेटमै उहाँको अनुहारमा देखिएको शान्त मुस्कान, मिठो बोली र आत्मीय व्यवहारले मलाई आफ्नै मान्छेजस्तो अनुभूति गराएको थियो। त्यसपछि सुरु भएको हाम्रो सहकार्य झण्डै २० वर्षसम्म निरन्तर रह्यो। यी २० वर्षमा मैले उहाँलाई धेरै भूमिकामा देखेँ— पत्रकार, सम्पादक, महासंघका अध्यक्ष, आन्दोलनका सहयात्री, संस्थाका नेता, तर सबैभन्दा बढी एउटा असल मानिसका रूपमा देखेँ।
पत्रकारितामा कहिलेकाहीँ विचार बाझिन्छन्, समाचारका विषयमा मत फरक पर्छन्, संस्थागत निर्णयमा असन्तुष्टि हुन्छ। तर मैले केशव दाइलाई कहिल्यै आवेशमा आएको देखिनँ। उहाँ रिसाउनुभन्दा सम्झाउनुहुन्थ्यो। दोष देखाउनुभन्दा सुधार गर्ने अवसर दिनुहुन्थ्यो। उहाँको अनुहारमा मुस्कान सधैँ स्थायी जस्तै लाग्थ्यो।
हामीले धेरै कार्यक्रम सँगै गर्यौं। धेरै आन्दोलनमा काँधमा काँध मिलायौँ। पत्रकार महासंघका अनगिन्ती बैठकहरूमा सँगै बस्यौँ। कहिले सफलता आयो, कहिले असफलता पनि भोग्यौँ। तर एउटा कुरा कहिल्यै बदलिएन-उहाँको व्यवहार। पदले उहाँलाई ठूलो बनाएन, उहाँको विनम्रताले उहाँलाई महान् बनाएको थियो।
पत्रकारिता उहाँका लागि पेशा थिएन, एउटा जिम्मेवारी थियो। सत्य बोल्नु, अन्यायको विरोध गर्नु, प्रेस स्वतन्त्रताको पक्षमा उभिनु र पत्रकारको सम्मान जोगाउनु उहाँको जीवनको लक्ष्य थियो। चार दशकभन्दा लामो यात्रामा उहाँले धेरै पुस्ता देख्नुभयो। हुलाकबाट समाचार पठाउने समयदेखि मोबाइलमै समाचार सम्पादन गर्ने युगसम्म उहाँले पत्रकारितालाई परिवर्तनसँगै अघि बढाउनुभयो। तर एउटा कुरा कहिल्यै बदल्नुभएन— इमानदारी।
म आज पनि सम्झन्छु, कुनै कार्यक्रममा भेट हुँदा उहाँले सधैँ मुस्कुराउँदै भन्नुहुन्थ्यो, “दीपकभाइ , सबै ठीक छ नि?” त्यो एउटा सामान्य प्रश्न थिएन। त्यो एउटा अग्रजको माया थियो। त्यो एउटा अभिभावकको चासो थियो। आज सोच्दा लाग्छ, अब त्यो आवाज कहिल्यै सुन्न पाइने छैन।
पत्रकार महासंघको बैठकमा अब त्यो शान्त अनुहार देखिने छैन। कुनै पत्रकार समस्यामा पर्दा सबैभन्दा पहिले समाधान खोज्ने त्यो व्यक्तित्व अब रहने छैन। नयाँ पत्रकारलाई हौसला दिने त्यो हात अब उठ्ने छैन।
केशव दाइले धेरै सम्पत्ति छोडेर जानुभएको छैन। तर उहाँले छोड्नुभएको सबैभन्दा ठूलो सम्पत्ति उहाँको चरित्र हो। उहाँको निष्ठा हो। उहाँको इमानदारी हो। उहाँको सरलता हो। यी सम्पत्तिहरू पुस्तौँसम्म बाँडिए पनि सकिँदैनन्।
आज उहाँको घरमा शोक छ। परिवार रोइरहेको छ। पत्रकारिता क्षेत्र स्तब्ध छ। नवलपरासीले एउटा अभिभावक गुमाएको छ। तर मलाई लाग्छ, आज सबैभन्दा धेरै रोइरहेको छ— उहाँसँग सहकार्य गरेका हरेक पत्रकारको मन।
दाइ, तपाईंलाई हामीले अब फोटोमा मात्र देख्नेछौँ। तपाईंका शब्दहरू अब स्मृतिमा मात्र सुन्नेछौँ। तपाईंसँग फेरि चिया पिउँदै पत्रकारिताका कुरा गर्ने अवसर अब कहिल्यै आउने छैन। तपाईंले मुस्कुराउँदै काँधमा हात राखेर हौसला दिने त्यो क्षण अब केवल सम्झनामा बाँकी रहनेछ।
तर दाइ,अब हामीसग तपाईंको सम्झना बाहेक केही हुने छैन । तर तपाईं हरेक इमानदार समाचारमा बाँचिरहनुभएको छ। तपाईं हरेक सत्यका पक्षमा उठ्ने कलममा बाँचिरहनुभएको छ। तपाईंले सिकाउनुभएको पत्रकारिताको संस्कारमा बाँचिरहनुभएको छ। तपाईंले रोप्नुभएको निष्ठाको बिरुवा नवलपरासीका पत्रकारका हृदयमा हुर्किरहेको छ।
तपाईंको अभाव कहिल्यै पूरा हुने छैन। तपाईं जतिक्कै मानिसहरू बारम्बार जन्मिँदैनन्। समयले धेरै पत्रकार जन्माउला, तर केशव पराजुली जस्तो सरल, निष्कलंक, निस्वार्थ र सबैको साझा अभिभावक बन्न सक्ने व्यक्तित्व पाउन कठिन हुनेछ।
दाइ, तपाईं जहाँ हुनुहुन्छ, शान्तिमा रहनुहोस्। हामी तपाईंले सिकाएको बाटोमा हिँड्ने प्रयास गरिरहनेछौँ। तपाईंले जोगाउनुभएको पत्रकारिताको मर्यादा जोगाउने प्रयास गरिरहनेछौँ। यही नै तपाईंप्रतिको हाम्रो सच्चा सम्मान हुनेछ।
हार्दिक श्रद्धाञ्जली, आदरणीय केशव पराजुली दाइ। तपाईंको भौतिक यात्रा टुङ्गिएको छ, तर तपाईंको नाम, योगदान, आदर्श र प्रेरणा नवलपरासीको पत्रकारिताको इतिहासमा सदैव अमर रहनेछ।
Facebook Comment