देवचुलीको वरचुली माविका विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम

देवचुलीको वरचुली माविका विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम

देवचुली । नवलपुरको देवचुली नगरपालिका–१६ स्थित वरचुली माध्यमिक विद्यालयमा ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ।

यातायात व्यवस्था कार्यालय, कावासोतीको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने, विद्यार्थी, चालक तथा सर्वसाधारणमा ट्राफिक नियम र सडक सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियम, सडकमा प्रयोग हुने विभिन्न ट्राफिक चिन्ह, सुरक्षित यात्रा गर्ने तरिका तथा सडक अनुशासनको महत्वबारे जानकारी दिइएको थियो। साथै सवारी चालकले अनिवार्य रूपमा साथमा राख्नुपर्ने चालक अनुमति पत्र, सवारी दर्ता, बीमा, नियमित जाँचपासलगायतका कानुनी प्रावधानबारे पनि जानकारी गराइएको थियो।

विद्यालय बसमा अपनाउनुपर्ने सुरक्षा मापदण्ड, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी तथा प्राथमिक उपचारका विषयमा समेत विद्यार्थीलाई व्यवहारिक जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालय बसका चालक तथा सहचालकले पालन गर्नुपर्ने आचारसंहिता, तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने विषयमा जोड दिइएको थियो। यात्राका क्रममा कुनै पनि शंकास्पद वा असुरक्षित गतिविधि देखिएमा शिक्षक, अभिभावक वा नजिकको प्रहरीलाई तत्काल जानकारी गराउन विद्यार्थीलाई सचेत गराइएको थियो।

कार्यक्रममा विभिन्न कक्षाका २०० जना विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र आमन्त्रित अतिथिसहित सहभागि भएका थिए । सचेतना कार्यक्रममा यातायात व्यवस्था कार्यालय, कावासोतीका मेकानिकल इन्जिनियर इन्जिनियर निश्चल  अर्याल,  प्रहरी निरीक्षक  वीरेन्द्र गुरुङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय,  प्रहरी नायब निरीक्षक तारापति अर्याल ले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा ट्राफिक नियमप्रति सकारात्मक सोच विकास गर्नुका साथै भविष्यमा सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology