भारतीय हेपाहा प्रवृतिका कारण वाल्मीकि आश्रम जाने पहुँच मार्ग अलपत्र

NAWALPUR TIMES

भारतीय हेपाहा प्रवृतिका कारण वाल्मीकि आश्रम जाने पहुँच मार्ग अलपत्र
1

सन्जय भट्टराई, कावासोती । झोलुङ्गे पुल निर्माण सम्पन्न भएको २ वर्ष पछि वाल्मीकि आश्रम पुग्नका नेपाली बाटो भएर बन्न लागेको पहुँच मार्गको बजेट भारतीय पक्षको हेपाहा प्रवृत्ति कारण फ्रीज हुने भएको छ ।

नवलपुरको त्रिवेणी धामबाट चितवनको माडी-१ जोडने झोलुङ्गे पुल निर्माण भए सँगै पुल हुँदै वाल्मीकि आश्रम जोडनका लागि वाग्मती प्रदेश सरकारले विनियोजन गरेको बजेट निर्माण कम्पनीले काम गर्ननै नपाए पछि फ्रीज हुने भएको हो ।

झोलुङ्गे पुलको पुर्वी मुख देखि वाल्मीकि आश्रम सम्म करिब सत्र सय मिटर पहुँच मार्ग र पुलको पुर्वी मुखमा सेनाको चेक पोस्ट बनाउने गरि ओम निर्माण कम्पनीले वैशाख २५ सम्झौता गरेर वैशाख २६ गते निकुञ्जबाट कार्यादेश समेत लिएको थियो । पहुँच मार्ग र सेनाको चेकपोस्टको लागि जेसिबीको प्रयोग गर्नु पर्ने भएको तर जेसिबी लैजान भारतको वाल्मीकि टाईगर रिजर्भको वन क्षेत्रको बाटो प्रयोग गर्ने अनुमति नपाएको निर्माण कम्पनीका सन्चालक ओम प्रसाद न्यौपानेले बताए ।

निर्माण कम्पनीले जेसिबी बिना काम गर्न नसकिने जानकारी गराएपछी चितवन राष्ट्रिय निकुञ्ज कार्यालय वाल्मीकि टाईगर रिजर्भलाई जेसिबी सहित चालक र सहचालक मात्रै जाने र नेपाल तर्फ २० दिन काम गरेर फर्किने तथा कुनै पनि हानी नोक्सानी नहुने, प्रतिवद्धता सहित पत्राचार गरेको भए पनि अन्तरास्ट्रिय सिमानाका कारण अनुमति नदिएको हुन सक्ने निकुञ्जका संरक्षण अधिकृत गणेश तिवारीले बताए ।

यसै बिच भारतको बिहार सरकारका पर्यावरण, वन तथा जलवायु मन्त्री डा.प्रेमकुमारलाई वाल्मीकि नगरमा भेटेर जेसिबी लैजान सहजीकरण गर्न आग्रह गरेको भए पनि समस्या समाधान नभएको निर्माण कम्पनीका सन्चालक न्यौपानेले बताउछ्न । करिब १० किलो मिटर बाटो हुँदै ट्रकमा राखेर जेसिबी पुर्‍याउन नसके पछि आफुहरुले काम गर्न नसकिने जानकारी बजेट दिने बाग्मती प्रदेश सरकार र निकुञ्ज कार्यालयलाई गराएको न्यौपानेले बताए ।

२०७० मा सम्झौता भएर २०७९ मा निर्माण सम्पन्न भएको झोलुंगे पुल नदि पारी पहुँच मार्ग नहुदा यति बेला त्रिवेणी घुम्न आउने पर्यटकका लागी फोटो खिच्ने ठाँउ मात्रै बनेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology