प्रदूषण फैलाएको भन्दै स्थानीयद्वारा चौधरी उद्योगमा प्रदर्शन

NAWALPUR TIMES

प्रदूषण फैलाएको भन्दै स्थानीयद्वारा चौधरी उद्योगमा प्रदर्शन
received 1365292090759319

कावासोती । दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । चौधरी उद्योग रहेको गाउँको सुन्दरबस्ती टोल विकास संस्थामा आबद्ध स्थानीयले बिहीबार वडाध्यक्षको नेतृत्वमा उद्योगको गेटमै जम्मा भएर प्ले कार्डसहित नाराबाजी गर्दै विरोध गरेका हुन्  ।

उद्योग सञ्चालन गर्दा उडेको धूलोले गाउँलेहरू घरबाहिर निस्कन नसक्ने अवस्था सिर्जना भएको भन्दै देवचुली नगरपालिका– २ का वडाध्यक्ष शरद घिमिरेको नेतृत्वमा स्थानीय विरोधमा उत्रिएका हुन् ।

दुई दिनभित्र प्रदूषण नियन्त्रण गर्छौं भनेर कारखाना व्यवस्थापनले प्रदर्शनकारीलाई आश्वस्त पारेपछि शनिबारसम्मको समय दिएर बिहीबारको आन्दोलन स्थगित गरिएको वडाध्यक्ष घिमिरेले बताए । ‘त्यतिन्जेल समस्या समाधान भएन भने त्यसपछि उद्योग चल्नै दिंदैनौं,’ वडाध्यक्ष घिमिरेले भने, ‘उद्योगले प्रदूषण फैलाएर बस्ती जोखिममा पार्न मिल्दैन ।’

गाउँलेले स्वच्छ वातावरण कायम गर्न पटक–पटक उद्योगलाई ज्ञापनपत्र बुझाउदा समेत अटेर गरेकाले विरोधमा उत्रिनु परेको उनले बताए । ‘अर्बौंको लगानीमा उद्योग सञ्चालन गरिएको छ, तर बाहिर धूलो उडेर गाउँमा बस्नै नसकिने अवस्था छ,’ उनले भने ।

यहाँ रहेको चौधरी उद्योग ग्रामले चाउचाउ, बियर, रियो र चुरोट उत्पादन गर्दै आएको छ । चौधरी उद्योग ग्राम नेपालका चर्चित उद्योगपति नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीको उद्योग हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology