त्रिवेणी नाकामा आएका २ भारतीयमा मलेरिया

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २६ गते ११:४०
त्रिवेणी नाकामा आएका २ भारतीयमा मलेरिया
malyeriya

नारायण शर्मा /पूर्वी नवलपरासी

गत एक साताको अवधिमा त्रिवेणी नाका हुँदै नेपाल आएका २ भारतीय नागरिकमा मलेरिया फेला परेको छ । गत शनिबार भारत हुँदै त्रिवेणी नाकाबाट नेपाल भित्रिएका भारतवाल्मीकी नगरका २८ वर्षीय सुरज पटेललाई मलेरिया भेटिएको हो  ।

गत मंगलबार नेपाल छिरेकी शान्ति पाण्डेलाई पनि मलेरिया देखिएको छ । सुरजलाई प्लाज्मोडियम फयाल्सीपेरम र शान्तलाई प्लाज्मोडियम भाइबेक्स जातको मलेरिया भेटिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंले बताए ।

सुरजमा देखिएको मलेरिया नेपालमा बिरलै पाइनेमध्येको हो । रगतबाट परीक्षण गरिने मलेरियाको १५ मिनेटमा रिपोर्ट आउने गर्छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग अन्यमा पनि सजिलै सर्न सक्छ । समयमै उपचार नभए यसले बिरामीको मृत्युसम्मै हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

गम्भीर प्रकृतिको मलेरिया भएकाले ती बिरामीमा मलेरिया पुष्टि हुनासाथ भारत नै फिर्ता पठाइएको छ । त्यस्तै प्रकृतिका अन्य रोगीहरु पनि दिनहुँ भेटिन सक्ने भएकाले निर्धक्कसँग स्वास्थ्य प्रयोगशाला नै राखेर हरेकको स्वास्थ्य परीक्षण गर्न आवश्यक भएको चापागाईंले बताए । उनले त्रिवेणीनाकामा स्वास्थ्य कार्यालयको भवन नहुँदा आउजाउ गर्ने सबैको परीक्षण गर्न नसकिएको जानकारी दिए ।

त्रिवेणी नाकामा हाल विनयी त्रिवेणी गाउँपालिकाले तीन जना स्वास्थ्यकर्मी राखेर कोरोनाको एन्टिजेन र मलेरियाको परीक्षण गर्दै आएका छन् । नेपालतर्फको भूभागमा सुरक्षाका लागि रहेको प्रहरीसमेत त्रिपाल टाँगेर बस्दै आएको छ ।

पालिका जग्गा दिन पनि तयार भए पनि सीमा-नाका नजिकको जग्गामा स्वास्थ्य कार्यालयको भवन बनाउन भारत सरकारको अनुमति चाहिने भएकाले समस्या थपिएको छ । नाकाबाट एक किलोमिटर उत्तरतर्फ स्वास्थ्यको भवन बनाउँदा नाकामा ओहोर दोहोर गर्नेको अनिवार्य परीक्षण गर्न सम्भव हुँदैन । धेरै बाटाहरू भएकाले सर्वसाधारण परीक्षणको झन्झटमा जान रुचाउँदैनन् । नेपाल भित्रिनासाथ मुख्य नाकामा अनिवार्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

त्रिवेणी नाकामा अस्थायी घर बनाएर भए पनि स्वास्थ्य जाँचलाई प्राथामिकतामा राख्न आफ्नो प्रयास भइरहेको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले  बताए । त्यहाँको जग्गामा समेत भवन बनाउन पर्ने आवश्यकतालाई ध्यानमा राखेर आफूले माथिल्लो निकायमा समन्वय गरिरहेको उनले दाबी गरे । ‘स्वास्थ्य जाँच सबैभन्दा महत्त्वपूर्ण विषय हो‚ यसमा भारत पनि सकारात्मक हुन आवश्यक छ‚’ उनले भने । रोग सर्दा दुवैतर्फका नागरिकलाई सर्ने हो । दुवै देशका नागरिकको एउटै समस्या भएकाले मिलेर काम गर्नुपर्ने उनले सुनाए ।

प्रकाशित : २०७८ माघ २६ गते ११:४०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI