पुस १६ गते २०३३ साल, नेपाली कांग्रेस तथा नेपालको लोकतान्त्रिक आन्दोलनले कोल्टे फेरेको महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भ हो । आफूमाथि आठवटा खतरनाक मुद्दाका तरबार झुन्डिएको परिस्थितिलाई एकातिर पन्छाउँदै, जननायक वीपी कोइराला, सर्वमान्य नेता गणेशमान सिंह लगायत नेपाली कांग्रेसका मूर्धन्य नेताहरू आठवर्ष लामो भारत निर्वासन त्यागेर स्वदेश फर्केको दिन त फगत एउटा घटना भयो ।
त्यसपछिका दिनमा सुरु भएको लोकतान्त्रिक आन्दोलनकारी राजनीतिको तरङ्गले तत्कालीन पञ्चायत व्यवस्थामा असाधारण कम्पन सुरु गरेको दिन थियो त्यो । त्यसपछि पञ्चायत व्यवस्था प्रतिरक्षात्मक अवस्थामा पुग्न नेपाली काँग्रेसका राजनीतिक कदम एकपछि अर्को उपलब्धिमूलक हुनु नै पुस १६ प्रस्थान विन्दु भएको प्रमाण थियो । कांग्रेसको जीवनमा क्रान्ति, आन्दोलन र सत्ता सञ्चालन जति नै मेलमिलापको राजनीतिले पनि स्थान लिँदै आएको छ । उल्लेखनीय छ, मेलमिलापको राजनीति, लोकतन्त्रले जति निर्देशित छ, त्यत्तिकै राष्ट्रिय एकताको भावनाबाट पनि उत्प्रेरित रहेको छ ।
२०३३ सालमा वीपीले समकालीन अन्तर्राष्ट्रिय परिस्थितिमा मेलमिलापको कदमको नेतृत्व गर्नुभयो, त्यसको वस्तुगत र गुणात्मक परिस्थिति आज पनि भिन्न छैन , अझ जटिलता र चुनौती थपिएका छन्। त्यो बेला अमेरिका र सोभियत सङ्घको बीच शीतयुद्ध पराकाष्ठामा पुगेको थियो । भारतमा इन्दिरा गान्धीको दबदबा तथा सङ्कटकालीन स्थितिको घोषणाको अवस्था थियो । शीतयुद्धकै सिलसिलामा विकासोन्मुख मुलुकहरूका लागि आफ्नो अस्मिता जोगाउने ठुलो चुनौती आइरहेको थियो । नेपालको शान्ति क्षेत्र प्रस्ताव बाह्य खतरा र चुनौती बोधको परिणति थियो । बंगलादेशको उदय, सिक्किमको विलय, अफगानिस्तानमा तत्कालीन सोभियत सङ्घको ब्युहरचनामा सत्तापलट, गृहयुद्ध र सोभियत सेनाको उपस्थिति आदि घटनाक्रमले दक्षिण एसिया तनावग्रस्त अवस्थामा थियो ।
आज त्यो परिस्थिति अमेरिका–चीनका बीचको शीतयुद्धको रूपमा झन् नजिकै देखा परेको छ । दुई छिमेकी भारत र चीनमा बढ्दो शक्तिको होडबाजी र युद्ध स्तरीय द्वन्द्वको खतरा मडारिएको छ । पश्चिमा मुलुकमात्र होइन, जापान, दक्षिण कोरिया, ताइवान, भियतनाम, थाइल्यान्ड, भारत, अस्ट्रेलिया जस्ता महत्त्वपूर्ण मुलुकहरूमा युद्धको खतरालाई प्रतिरोध गर्ने रणनीतिक तयारी पनि सँगसँगै चलिरहेको अवस्था छ । हिजोको सित युद्धको केन्द्र युरोप थियो भने आज टड्कारो रूपाबाट दक्षिण एसिया र एसियाको प्रशान्त क्षेत्र र अझ बढी नेपाल आजको शीतयुद्धको स्थल बन्दैछ ।
आणविक शक्ति सम्पन्न दुई ठुला छिमेकीको बीचमा अवस्थित नेपालजस्ता विपन्न मुलुक शक्ति राष्ट्रको रणभूमि बन्ने खतरा त्यति नै बढिरहेको छ । शक्ति राष्ट्रहरू आपसको युद्ध आफ्नै भूमिमा होइन, तेस्रो मुलुकमा लड्ने गर्छन् भन्ने तीतो धरातलीय वास्तविकतालाई हामी सबैले आत्मसात् गर्नुपर्छ ।
नेपाली कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय (सूर्यबाबु) ले २०१९ सालमा आईसब्रेक गर्नुभएको मेलमिलापको प्रयासलाई २०२५ सालमा कांग्रेसका तत्कालीन सभापति सुवर्ण शमशेरले निरन्तरता दिनुभयो । तर २०३३ सालमा आएपछि वीपीको जोखिमपूर्ण प्रयासले मात्र मेलमिलापले सार्थकता पायो ।
राष्ट्रिय मेलमिलाप दिवसलाई एकल घटनामात्र नमानी यसको साङ्गोपाङ्ग महत्त्व, दूरगामी प्रभाव र आजको परिस्थितिमा यसको औचित्य र सान्दर्भिकताबारे हामीले गम्भीरतापूर्वक विचार गर्नुपर्छ । वीपीद्वारा प्रतिपादित मेलमिलाप सर्वप्रथम नेपाली कांग्रेस र यसको नेतृत्वले बुझ्नु र कार्यान्वन गर्नु जरुरी छ। मेलमिलाप भनेको सहअस्तित्व हो कसैले कसैसँगको आत्म समर्पण होइन, सम्यक् र न्यायोचित सम्मान तथा सहभागिता नै यसको आधार हो। सर्वप्रथम आफू भित्र र सम्पूर्ण राष्ट्रिय शक्तिहरू बीचको एकता आजको राष्ट्रीय आवश्यकता हो। यतातिर उत्प्रेरित र समय सापेक्ष पद चिह्न ग्रहणको उत्प्रेरणा लिन सार्थक बन्ने सकौँ। मेलमिलापका प्रणेता बीपीप्रति हार्दिक नमन तथा सबैमा मेलमिलाप दिवसको शुभकामना।
Facebook Comment