केही दिनदेखिको झरी शनिबार साँझसम्म परिरहने भएको छ । आइतबार बिहानबाट मौसम केही खुल्ने वरिष्ठ मौसमविद् निराजन सापकोटा बताउँछन् ।
“विहान पानी पर्ने दिउँसो केहीबेर रोकिने र पुनः पर्ने तथा अपराह्न ४/५ बजेदेखि कम हुने क्रम जारी रहने छ,” मौसमविद् सापकोटा भन्छन्, “यो क्रम शनिबार साँझसम्म नै रहन्छ । आइतबारबाट मात्रै मौसम खुल्ने देखिन्छ ।”
उनका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण वदली रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
काठमाडौंमा पनि आज दिउँसो पानी पर्ने र रोकिने क्रम चलिरहने उनको भनाइ छ ।
आज राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन उनको अनुरोध छ ।
“केही दिनदेखिको झरीका कारण गलेको जमिन सामान्य पानी पर्दा पनि पहिरो जाने र गेग्रान बग्ने सम्भावना भएकाले अझै केही दिन सतर्क रहनु पर्ने छ,” उनी भन्छन्, “माटो भिझिसकेकाले सानो पानी पर्दा पनि बाढी आउने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुले सतर्क हुनुपर्छ ।”
हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहनुका साथै देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ ।
Facebook Comment