लक्ष्मीप्रसाद पंगेनी-
बढ्दो वेरोजगारीका कारण नेपाली युवाहरुको लागि वैदेशिक रोजगार आकर्षक गन्तव्य बन्दै आएको छ । दैनिक एक हजारदेखि बाह्र सय युवाहरु वैदेशिक रोजगारीमा जानुले पनि स्वदेशमा वेरोजगारीको अवस्था कस्तो रहेछ भनेर संकेत गर्दछ | वैदेशिक रोजगारको केही अल्पकालीन सकारात्मक प्रभावहरु भए पनि यसका दीर्घकालीन नकारात्मक असरहरु प्रशस्तै रहेका छन । जति युवाहरुले वैदेशिक रोजगारीमा गएर आर्थिक आम्दानी गर्छन त्यो भन्दा बढी उनीहरु स्वदेशमा सामाजिक मूल्य चुकाउन बाध्य छन् । वैदेशिक रोजगार कै कारण कतिपयको घरपरिवार विखण्डित भएको छ भने कतिपयले जीवन नै गुमाउनु परेको छ । वैदेशिक रोजगारी कै कारण बालबालिका अभिबावकको माया गुमाएका छन् भने गाउँ युवा विहिन बनेको छ । त्यस्तै महिलाहरु वैदेशिक रोजगारमा जाने निर्णय गरेको दिनदेखि नै विभिन्न लान्छनाहरु खेप्न वाध्य हुन्छन भने वेदेशिक रोजगारीबाट फर्किएपछि त झन् उनीहरु समाजमा बस्नै नसक्ने अवस्था छ । वैदेशिक रोजगारीको अर्को ठुलो समस्या भनेको ठगी पनि रहेको छ । वैदेशिक रोजगारीमा जाने युवाहरु आफ्नै आफन्तबाट नै ठगिएको अवस्था छ । म्यानपावर कम्पनी र तिनका एजेन्टहरुले सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने, रकम लिएर विदेश नपठाउने, तोकेको काम र पारिश्रमिक नपाउने आदि कार्यबाट नेपाली युवाहरु वर्षौदेखि ठगिदै आइरहेका छन् ।
वैदेशिक रोजगारीको यी र यस्तै समस्याको समाधानको लागि सामुदायिक विकास मंच अन्तरगत सुरक्षित आप्रवासन (सामी)ले नवलपरासी वसुपूर्व, नवलपुरका कावासोती, गैडाकोट, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा विभिन्न चेतनामुलक कार्यहरु गरिरहेको छ भने जिल्ला प्रशासन कार्यालय नजिकै सुरक्षित आप्रावासन परामर्श केन्द्र स्थापना गरी जिल्लाका विभिन्न स्थानबाट राहदानी बनाउन आउनेहरुलाई वैदेशिक रोजगार सम्वन्धि विभिन्न सचेतनामुलक परामर्श दिंदै पनि आएको छ । यस संस्थाले प्रदान गर्दै आइरहेको सेवाहरु मध्ये वैदेशिक रोजगारीका कारण समस्यामा परेकाहरुलाई दिने मनोसामाजिक परामर्श, ठगि भएको रकम फिर्ता ल्याउन गरिने पहल र वैदेशिक रोजगारीमा गएका परिवार लक्षित वितिय साक्षरता कार्यक्रम निकै प्रभावकारी भएको देखिएको छ ।
सुरक्षित आप्रावासन(सामी) परियोजना, नवलपुरको परामर्शदाता रन्जना लम्सालले दिएको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७०/०७८ मा ठगिका मात्र ७८ वटा मुद्दा दर्ता भएको छ भने आ.ब २०७०/०७१ देखि हालसम्म ठगिका १ हजार १२८ वटा दर्ता भएका छन् । जसमध्ये ५६६ उजुरी समाधान भएको छ । २ करोड ८० लाख ८७ हजार २ सय रुपैया पीडितले क्षतिपूर्ति पाएका छन् । परिवारका आफन्त, नजिकका नातेदारबाट नै ठगिका घटना बढी हुने भएकाले ठगीका घटनाका दोषीलाई पीडित आफैँले कारवाही प्रकृयामा लैजान नखोज्ने भएकोले समस्या समाधानमा कठिनाइ भएको लम्सालको भनाई छ । त्यस्तै परियोजना अवधिभर नवलपुरमा मात्रै वैदेशिक रोजगारसम्बन्धी ४६६ वटा व्यक्तिगत समस्याहरु दर्ता भएकोमा ३१८ जना मनोसामाजिक परामर्श पश्चात समान्य जीवनमा फर्किएका छन् । कोभिड महामारीको दोश्रो चरणको निषेधाज्ञामा समेत कोभिड १९ संक्रमति ४ सय जनालाई मनोसामाजिक परामर्श प्रदान तथा सहयोग गरेको सामीको तथ्यांकले देखाउंछ । चालु आ.व.मा कावासोती, गैडाकोट, मध्यविन्दु तथा विनयी त्रिवेणीबाट वैदेशिक रोजगारमा रहेका पुरुष दाजुभाईहरुका ३७२ जना श्रीमतीहरुलाई सामिले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको थियो जसबाट २१३ जना महिलाहरु श्रीमानले विदेशबाट पठाएको रकमको दैनिक हिसाबकिताब राख्न, १७६ जना मासिक बचतमा वृद्धि गर्न, २२० जना वित्तीय लक्ष्य तयार गर्न, १५० जना व्यवसायिक योजना तयार गर्न, ७६ जना व्यवसाय शुरु गर्न तथा २४७ जना विदेशबाट कागजपत्र मगाउन सक्षम भएको देखिन्छ ।
हिमालयन सामुदायक विकास मंच (हिकोडेफ)का कार्यकारी निर्देशक कृष्ण घिमिरेका अनुसार नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्थानीय तहहरुको समेत नेतृत्वमा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन (सामी) परियोजना संचालन पश्चात वैदेशीक रोजगारीमा जानुअघि शिक्षा दिने, सीप सिकाउने, ठगि, मृत्यु, हिँसा, अन्य विभिन्न समस्यामा परेकालाई उद्दारमा सहयोग गर्ने, वैदेशीक रोजगारीले हुने मनोसामाजिक समस्यामा परामर्श गर्ने, विदेशबाट भएको कमाईलाई सही सदुपयोग गर्न सिकाउने आदि काम हुँदै आइरहेको छ । परियोजनाले विषेशगरी वित्तीय साक्षरतालाई प्राथमिकतामा राखेको घिमिरे बताउनुहुन्छ । विदेशबाट पठाएको रकम कसरी कम भन्दा कम खर्च गरेर धेरै बचत गर्ने, बचत गरेको रकम कहाँ कसरी प्रयोग गर्ने, पारिवारिक द्वन्द र विखण्डन कसरी रोक्ने, घरपरिवार र सन्तानको हेरचाह कसरी गर्ने, कसरी स्वस्थ रहने भन्ने जस्ता शिक्षा दिन थालेपछि नेपालमा बसेका परिवारले विदेशबाट पठाएको रकमको विभिन्न आयआर्जनको क्षेत्रमा लगानी गर्ने गरेको उहाँको दावी छ।
वित्तीय साक्षरता शिक्षा लिएपछि कुखुरापालन व्यवसाय गरे रुकमाया पाठक, कावासोती ४ ,हसौरा ( तस्बिर: सामी)
वित्तीय साक्षरता शिक्षा लिएपछि सिलाईकटाई तथा किराना पसल संचालन गर्दै पवित्र विक, गैडाकोट १३ बेल्डिया, तस्विर: शुभ राना (सामी)
कोभिड १९को कारण लक्षित गतिविधिहरु संचालन गर्न नसकिएको, भर्चुअल वैठक त्यति प्रभावकारी नभएको, विद्यालयहरुमा कार्यक्रम संचालन गर्न नसकिएको तथा साना समुहमा विभाजन गरी कार्यक्रम संचालन गर्न नसकिएको आदिलाई परियोजनाको चुनौतीको रुपमा लिएको छ । चुनौतीलाई आगामी दिनहरुमा समाधान गर्दै अघि बढ्ने कार्यकारी निर्देशक घिमिरे बताउनुहुन्छ ।
वैदेशिक रोजगारको प्रभाव देशै भरि छ । अहिले पनि वैदेशिक रोजगारको कुल ग्राहस्थ उत्पादनमा करिव २३ प्रतिशत योगदान रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारको समस्या समाधान गर्न सरकार एक्लैले सक्दैन । समस्या समाधानको लागि व्यक्ति स्वयं पनि सजग हुन जरुरी देखिन्छ । सकेसम्म स्वदेश मै सीप सिकेर केही इलम गर्ने प्रण गर्नुपर्छ । वैदेशिक रोजगारीमा जाने नै भए कसैलाई रकम दिंदा भर्पाइ लिने, वैदेशिक रोजगार सम्बन्धि सम्पूर्ण कागजपत्रको एक प्रति घरपरिवारलाई दिने, विश्वासिलो तथा दर्ता भएको म्यानपावर कम्पनीसंग कारोवार गर्ने, सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने, स्वदेशको विमानस्थल मात्र प्रयोग गर्ने, गन्तव्य मुलुकको नीति नियम तथा भाषाको अध्ययन गर्ने आदि कार्यबाट पनि वैदेशिक रोजगारबाट आउने धेरै किसिमका समस्याबाट मुक्ति पाउन सकिन्छ । सामीले चार वटा पालिकामा वित्तीय साक्षरता शिक्षा कक्षा संचालन गर्दा त एकै वर्षमा झन्डै ४ सय महिला लाभान्वित भएका छन् भने जिल्लाको ८ वटै पालिकामा यो कार्यक्रम विस्तार गर्ने हो भने यसले अझ व्यापकता पाउने छ र वैदेशिक रोजगार अझ सुरक्षित रहने छ । सामी परियोजनाले पनि वैदेशिक रोजगारमा जाने युवाहरुलाई नियमित अनुगमन गर्ने, गाउँ गाउँ तथा टोल टोलमा मनोसामाजिक परामर्शका कार्यक्रमहरु विस्तार गर्ने तथा वित्तीय साक्षरता शिक्षा कार्यक्रमलाई अझ गहन र प्रभावकारी बनाउन सक्ने हो भने वैदेशिक रोजगारबाट उत्पन हुने समस्याहरु समधान हुँदै सभ्य तथा समुन्नत समाज निर्माणमा टेवा पुग्ने देखिन्छ ।
प्रकाशित : २०७८ असार १९ गते २१:४१
Facebook Comment