आजदेखि सहिद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम

NAWALPUR TIMES

आजदेखि सहिद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम
shahid

आजदेखि १६ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी सहिद दिवस मनाइँदै छ। काठमाडौंमा दिवस मनाउन सहिद सप्ताह मुल समारोह समिति गठन गरिएको छ। जसमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य संयोजकमा रहेका छन्।

जसअनुसार आज टेकुस्थित खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेका स्थानमा श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिँदै छ। त्यस्तै माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेका स्थानमा र माघ १५ गते बिहान ८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेका स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्याण्ड, मार्चपास र सहिदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभात फेरी सहिद पार्क लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ।

सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ। सभामा नेपाली सेनाले सहिदको सम्मानमा ‘सम्मान गारद’ अर्पण गर्नेछ। सेनाले त्यसै दिन दिउँसो १२ बजे एक तोपको सलामी अर्पण गर्नेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology