नवलपुरमा भारी वर्षाको सम्भावना, जिल्ला प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

नवलपुरमा भारी वर्षाको सम्भावना, जिल्ला प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले आगामी असार १६ र १७ गते जिल्लासहित देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकाले सम्पूर्ण जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै प्रशासनले जारी गरेको सूचनामा भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ। सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको हो।

प्रशासनले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, जोखिममा रहेका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा सर्न तयारी अवस्थामा रहन आग्रह गरेको छ। त्यस्तै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ।

सूचनामा विशेषगरी कालीगण्डकी करिडोर लगायत पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले रातिको समयमा अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरिएको छ। अत्यावश्यक अवस्थामा नदी, खोला, तटीय क्षेत्र तथा जोखिमयुक्त सडकमार्ग प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

आकस्मिक अवस्था सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा स्थानीय तहमा तत्काल सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ। यसका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४, विपद् सहायता ११४९, मौसम तथा बाढी सूचना ११५५ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको सम्पर्क नम्बरमार्फत जानकारी लिन सकिने जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना द्वारा जारी सूचनामा सबै नागरिकलाई मौसमको अद्यावधिक जानकारी लिँदै सुरक्षित रहन र अफवाहभन्दा आधिकारिक सूचनालाई मात्र विश्वास गर्न समेत आग्रह गरिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology