म्यादी प्रहरीका लागि नवलपुरमा तीन दिनमा करिब दुई हजारको आवेदन

NAWALPUR TIMES

म्यादी प्रहरीका लागि नवलपुरमा तीन दिनमा करिब दुई हजारको आवेदन
IMG 20220320 212917

नवलपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरु भएको म्यादी प्रहरी भर्ना सुरु भएको तेस्रो दिन सम्म नवलपुरमा एक हजार ९ सय ५६ जनाले आवेदन दिएका छन् ।

पहिलो दिन आइतबार ३३५ जना पुरुष र ९६ जना महिला सहित ४३१ जना, दोस्रो दिन महिला २०२ र पुरूष ६१८ सहित ८२० जना र मंगलबार तेस्रो दिन ५४४ पुरूष र १६१ महिला सहित ७ सय ५ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरमा १ हजार ३० म्यादी प्रहरी माग भएको छ । आवेदन चैत्र १२ गतेसम्म लिइने छ ।
म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले निशुल्क रूपमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त दिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि र ५ थान पासपोर्ट साईजको फोटोका साथै अनुभवका कागजपत्र भए सो र आफूले हासिल गरेको शैक्षिक योग्यताका प्रमाण पत्र पनि पेश गर्नु पर्ने छ ।

म्यादी प्रहरीका लागि छनोट प्रक्रियामा विशेष गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा आवेदन लिएर छनौट प्रक्रियामा रहेकालाई पहिलो प्रथामिकता, पूर्व नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनालाई दोस्रो प्रथामिकता, विदेशमा वा बैंकमा सेक्युरेटी गार्डमा काम गरेकालाई तेस्रो प्राथमिकता, पूर्व म्यादी प्रहरीलाई चौथो प्रथामिकता र अन्त्यमा आमसर्वसाधारणलाई प्रथामिकतामा राखिने छ ।
प्राप्त भएका आवेदनहरूको छनौट चैत्र १६ गतेबाट शुरू हुनेछ। चैत्र २२ गते १ हजार ३० जना म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशन गर्ने गरि तयारी भएको गिरीले बताए। छनौट भएका म्यादी प्रहरीको लागि चैत्र २८ देखि १५ दिनको तालिम सञ्चालन हुनेछ। छनौट भएकालाई नवलपुरका विभिन्न स्थानमा तालिम दिइएने गिरीले बताए ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिक बाहेक म्यादी प्रहरीलाई खाद्यान्नवापत ७ हजार २००,पोशाक तथा अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधाको व्यवस्था गरिएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology