प्रा.डा. थापालाई “प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान” २०७८ प्रदान गरिने

NAWALPUR TIMES

प्रा.डा. थापालाई “प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान” २०७८ प्रदान गरिने
241164408 395384852171263 2501803011790350372 n

काठमाडौं, भदौ १८ गते । नेपालमा सहभागितात्मक विकास तथा गरिबी निवारणको विषयमा वकालत गर्दै यसको पद्धति, प्रविधि र विविध सरोकारमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका विकासविद् एवम् लेखक प्रा.डा. नरविक्रम थापा (काठमाडौं) लाई २०७८ सालको ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ।

प्रा.डा. थापाका गरिबी निवारण, सहभागीमूलक विपद् व्यवस्थापन, खाद्यसुरक्षा र अर्थराजनीति, किसानको नेतृत्वमा कृषि, दिगो जीविकोपार्जन र जैविक विविधता, अनुगमन तथा मूल्याङ्कन विधि, अनुसन्धान पद्धतिजस्ता विषयमा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

महत्वपूर्ण जर्नल र पत्रपत्रिकाहरूमा समेत उहाँका थुप्रै अनुसन्धानमूलक आलेखहरू प्रकाशित छन् । हाल उहाँ जावलाखेलस्थित इन्टरनेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नामक संस्थामा आबद्ध हुनुहुन्छ । हरेक वर्ष नेपानबाट प्रदान गरिने सम्मानपत्रसहित १० हजार रुपैयाँ राशिको उक्त सम्मान प्राप्त गर्ने उहाँ चौथो व्यक्ति हुनुहुन्छ । यस अघि २०७५ सालमा सहप्राध्यापक गम्भीरबहादुर हाडा, २०७६ सालमा द्वन्द्वविद् डा. विष्णुराज उप्रेती र २०७७ सालमा डा. मानबहादुर बिकेले यो सम्मान प्राप्त गरिसक्नु भएको छ ।

नेपाल सहभागीमूलक कार्य समूह (नेपान) का निवर्तमान अध्यक्ष चेतनाथ कणेल परिवारले आफ्नो स्व. सुपुत्र प्रसिद्ध कणेलको स्मृतिमा २०७४ सालमा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राखी सोको ब्याजबाट २०७५ देखि हरेक वर्ष एकजना सहभागीमूलक विकास पद्धतिमा लामो समय कलम चलाई केही पुस्तक प्रकाशन गरेका व्यक्तिलाई सम्मान गर्ने परम्पराको थालनी भएको कुरा नेपानका अध्यक्ष झविन्द्र भण्डारीले बताउनुभयो ।

नेपानको २७ औं वार्षिक साधारणसभाका अवसरमा आउँदो भदौ १९ गते शनिवार एक समारोहबीच उक्त सम्मान अर्पण गरिने कुरा नेपानले जनाएको छ । नेपान सञ्जालमा हाल सातै प्रदेशका करिब साढे तीन सय विकासकर्मीहरू सदस्य रहेका छन् । नेपालमा सहभागीमूलक विकास पद्धति प्रवद्र्धनमा नेपानले विगत २७ वर्षदेखि तालिम, गोष्ठी, अनुसन्धान, प्रकाशन, नीति परिवर्तनका लागि पैरवी, नेटवर्किङ, स्रोतकेन्द्र व्यवस्थापनजस्ता कार्यहरू आफ्ना सदस्यहरूमार्फत् स्वयमसेवी तवरबाट गर्दै आएको छ । सदस्यहरूकै योगदानबाट कोटेश्वर क्षेत्रमा ‘नेपान–घर’ समेत बनिसकेको छ ।

सहभागीमूलक पद्धति प्रवद्र्धन गर्ने सञ्जालीकृत संस्थाको रूपमा नेपानलाई नेपालमा मात्र होइन विश्वकै एक अग्रणी संस्था मानिन्छ । ‘सहभागिता’ नामक नेपाली विकास म्यागाजिन र ‘पार्टिसिपेसन’ नामक अङ्ग्रेजी जर्नल पनि यस संस्थाबाट दुई दशकअघिदेखि नियमितरूपमा प्रकाशन हुँदै आएको नेपाल सहभागीमूलक कार्य समूह (नेपान) का निवर्तमान अध्यक्ष चेतनाथ कणेलले नवलपुर टाईम्सलाई बताउनुभयो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology