‘पाडो खायो‚ बाघ भेटिएन’

NAWALPUR TIMES

नारायण शर्मा/पूर्वी नवलपरासी

विनयी त्रिवेणीमा नरभक्षी बाघ खोज्न गरिएको प्रयास १८ दिन बितिसक्दा पनि सफल हुन सकेको छैन । बाघलाई समात्ने उद्देश्यले आहाराका लागि राखिएको पाडोलाई गएराति १२ बजेपछि सोही बाघले खाएको खोजीकार्यमा खटिएका वन अधिकृत अमृत ज्ञवालीले बताए ।

‘गएराति १२ बजेपछि बाघले पाडो खायो र भाग्यो; हामी बसुन्जेल आएन‚ हिँडेपछि पाडो खाएर बाघ भाग्यो‚’ वन अधिकृत ज्ञवालीले भने ।

‘एक साताअघि बाघले एउटा गोरु खाएको स्थानमै (पुच्छ्रेखोलाको किनार) बाघले शिकार गरोस्‚ त्यहि मौकामा बेहोस बनाएर नियन्त्रणमा लिन सकियोस् भनेर आहाराका लागि पाडो बाँधेर निकुञ्जका प्राविधिक रुखमा मचान बनाएर कुरेको कुर्‍यै छौं । हामी हिँडेपछि आएछ‚’ ज्ञवाली भन्छन्‚ ‘पाडो शिकार गरेको क्षेत्रमा सिल गरेर मान्छेको आवतजावत बन्द गरिएको छ । आफैंले शिकार गरेको सिनो लुछ्न आउँछ कि भनेर डार्ट गर्ने टोली (सुई हानेर बेहोस पर्ने टोली) जंगलमै खटिएको छ ।

पाडो खाएको स्थान नजिकै रुखमा मचान बनाएर बाघ नियन्त्रणमा लिने प्राविधिक टोली कुरेको कुर्‍यै छ ।

‘तीनवटा हात्तीसहित २६ जनाको टोली बाघ खोज्न जंगलमै छ । त्यसमा ८ जना प्रहरी पनि सुरक्षाका लागि खटिएका छन् । दाउन्ने पहाडदेखि पूर्व-उत्तरको जंगलमा एक साताअघि बाघले स्थानीयको गोरु खाएको क्षेत्रमा प्राविधिकसहितको टोली खटिएको छ । भाले बाघ हो भन्ने यकिन भए पनि नियन्त्रण गर्न सकिएको छैन ।

आफैंले शिकार गरेको क्षेत्र वरपर बाघ बस्छ भन्ने छ तर यो बाघ त कता लुक्छ‚ लुक्छ हैरान पार्‍यो‚’ ज्ञवाली भन्छन्‚ ‘मान्छेको गतिविधि (मुभमेन्ट) थाहा पाएर नआएको हो कि भनेर मचानमै चढेर कुरेका छौं‚ आउछ कि भन्ने आश छ ।’

विनयी त्रिवेणी गाउपालिकामा नरभक्षी बाघको आक्रमणबाट अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । बाघको आक्रमणबाट त्रसित गाउँलेहरू अहिले घाँसदाउरा गर्न र चौपाया चराउन वन जान छाडेका छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology