८ दिनदेखि पोखरी–कोखेटार सडक बन्द : सडक विभाग गैरजिम्मेवार हुँदा पहाडको जनजीवन ठप्प

८ दिनदेखि पोखरी–कोखेटार सडक बन्द : सडक विभाग गैरजिम्मेवार हुँदा पहाडको जनजीवन ठप्प

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका–४ अर्खालामा गएको पहिरोले अवरुद्ध भएको पोखरी–कोखेटार सडकखण्ड आठ दिन बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको छ।

सडक खुलाउन जिम्मेवार सडक विभागले समयमै आवश्यक हेभी मेसिनरी परिचालन गर्न नसक्दा हजारौँ स्थानीयको जनजीवन कष्टकर बनेको भन्दै सम्बन्धित निकायको कार्यशैलीप्रति स्थानीयले तीव्र असन्तुष्टि जनाएका छन्।

वर्षात् सुरु हुनासाथ पहाडी भेगका नागरिकले व्यहोर्नुपर्ने सास्तीको कुनै सीमा हुँदैन। तर, विपद्को यस्तो अवस्थामा पनि जनताको जीवनसँग प्रत्यक्ष जोडिएको सडक खुलाउन सम्बन्धित निकायको सुस्तता र गैरजिम्मेवारीले नवलपुरको बुलिङटार गाउँपालिकाका बासिन्दा थप सास्तीमा परेका छन्।

दलदले हुँदै पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडक बुलिङटार र बौदीकाली गाउँपालिकाका अधिकांश बस्ती तथा पाल्पाको रामपुर क्षेत्रका नागरिकका लागि जिल्ला सदरमुकाम कावासोती पुग्ने मुख्य मार्ग हो।

सडक बन्द भएसँगै एम्बुलेन्स सञ्चालन प्रभावित भएको छ भने आकस्मिक बिरामीलाई अस्पताल पुर्‍याउन कठिनाइ भएको स्थानीयले बताएका छन्। दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत ठप्पजस्तै हुँदा खाद्यान्न, खाना पकाउने ग्यास, तरकारीलगायत अत्यावश्यक सामग्रीको अभाव हुने चिन्ता बढेको छ।

अध्ययनका लागि हिँडेका विद्यार्थी, सरकारी सेवा लिन जाने सर्वसाधारण, व्यापार– व्यवसायी तथा किसान सबै समस्यामा परेका छन्। सडक बन्द भएपछि उनीहरू कालीगण्डकी करिडोर हुँदै गैंडाकोटको लामो घुमाउरो बाटो प्रयोग गरेर जिल्ला सदरमुकाम पुग्न बाध्य छन्। यसले यात्रामा समय र खर्च दुवै बढाएको छ।

आठ दिनसम्म पनि पहिरो हटाउने प्रभावकारी काम सुरु हुन नसक्दा स्थानीय सरकारसँगै सडक विभाग, भरतपुरको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। स्थानीयका अनुसार पहिरो गएको जानकारी सुरुदेखि नै सडक विभागलाई गराइए पनि हालसम्म आवश्यक हेभी मेसिनरी परिचालन गरेर सडक सञ्चालनमा ल्याउने काम हुन सकेको छैन।

सडकबारे जानकारी लिन बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीलाई पटक–पटक टेलिफोन सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आएन्न ।

यता, सडकको जिम्मेवारी सम्हालिरहेका सडक विभाग, भरतपुरका इन्जिनियर आशिष नेपालले पहिरो हटाउन हेभी मेसिनरी व्यवस्थापन भइरहेको र “एक–दुई दिनभित्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ” भन्ने प्रतिक्रिया दिए। तर स्थानीय भने यस्तो जवाफप्रति सन्तुष्ट छैनन्। उनीहरूका अनुसार आठ दिनसम्म पनि काम सुरु हुन नसक्नु सम्बन्धित निकायको लापरबाही र सुस्त कार्यशैलीको स्पष्ट उदाहरण हो।

स्थानीयका अनुसार प्रत्येक वर्ष यही स्थानमा पहिरो दोहोरिने समस्या भए पनि दीर्घकालीन समाधानका लागि बायो–इन्जिनियरिङ, बलियो टेवा पर्खाल तथा प्रभावकारी पानी निकास व्यवस्थापनमा पर्याप्त ध्यान दिइएको छैन। वर्षेनी सामान्य मर्मतमै सीमित हुँदा समस्या झन् दोहोरिने गरेको उनीहरूको भनाइ छ।

गृह मन्त्रालयले वर्षायाममा सम्भावित पहिरो प्रभावित क्षेत्रमा आवश्यक हेभी उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिँदै आएको भए पनि बुलिङटार क्षेत्रमा त्यसअनुसारको पूर्वतयारी प्रभावकारी देखिएको छैन।

स्थानीयवासीले तत्काल पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन, प्रभावित क्षेत्रमा स्थायी संरक्षणका संरचना निर्माण गर्न तथा विपद्का बेला जिम्मेवार निकायलाई नागरिकको सहज पहुँचमा राख्न माग गरेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology