कावासोती । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा दुर्लभ एकसिङ्गे गैंडा मार्ने उद्देश्यले प्रवेश गरेका दुई जनालाई पक्राउ गरी उनीहरूमाथि नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
गत २३ गते निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षा खटिएको नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले सञ्चालन गरेको कर्डन एन्ड सर्च अपरेसनका क्रममा नवलपुरको मध्यविन्दु नगरपालिका–३, ब्रह्मस्थान घाट क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका–१ का ६८ वर्षीय खड्ग नारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ का ५२ वर्षीय टेकबहादुर मगर रहेका छन्।
उनीहरूको साथबाट कटुवा (भरुवा) बन्दुक १ थान, गोलीगट्टा, बन्दुकमा प्रयोग हुने सामग्री बरामद गरिएको थियो। त्यसपछि गरिएको खानतलासीका क्रममा खड्ग नारायण चौधरीको घरबाट गैंडाको दाँत जस्तो देखिने आखेटोपहार, अर्को भरुवा बन्दुक, भारतीय ५०० रुपैयाँका १३६ वटा नोट लगायत अन्य सामग्री समेत बरामद भएको निकुञ्जले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरू संरक्षित वन्यजन्तु एकसिङ्गे गैंडा मार्ने प्रयास तथा संरक्षित वन्यजन्तुको आखेटोपहार (गैंडाको दाँत) खरिद–बिक्री मा संलग्न रहेको आरोप लागेको छ।
निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५) र दफा २६ (१) बमोजिम सजायको माग गर्दै २०८३ साउन ४ गते नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको जनाएको छ।
Facebook Comment