चितवनमा वन्यजन्तुको आक्रमणमा ज्यान जाने घटनामा कमी, निकुञ्जले गर्न थाल्यो ‘ट्र्याकिङ’

NAWALPUR TIMES

चितवनमा वन्यजन्तुको आक्रमणमा ज्यान जाने घटनामा कमी, निकुञ्जले गर्न थाल्यो ‘ट्र्याकिङ’
मृतक २१ वर्षीय आमा आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटे तस्बिर : मधु दवाडी

कावासोती । गत आर्थिक वर्ष २०८२/८३ मा वन्यजन्तुको आक्रमणमा परेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाँच जनाको ज्यान गएको छ । चितवन निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार त्यसरी ज्यान गुमाउनेमा जंगली हात्ती र गैंडाबाट दुई–दुई तथा बाघको आक्रमणबाट एक जना थिए ।

पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनमा गत आवमा वन्यजन्तुबाट मान्छेको ज्यानै जाने घटनामा भने कमी आएको छ । आव ०८१/८२ मा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैंडाबाट नौ जना, हात्तीबाट दुईजना, बाघ र गोहीबाट एक एकजना गरी कुल १३ जना मारिएका थिए । ०८०/८१ मा पनि ११ जनाको ज्यान गएको थियो । जसमा गैंडाबाट पाँच, बाघबाट चार र गोहीबाट दुई जनाको ज्यान गएको निकुञ्जको तथ्यांक छ ।

तीन वर्षअघि जंगली हात्तीबाट हुने मानवीय क्षति शून्य थियो । तर गत २० असारको मध्यरातमा ‘धुर्बे’ हात्तीले एकै घरका आमा र सानो छोराको ज्यान लिएको थियो । दुई जनाको ज्यान लिएपछि ‘धुर्बे’ हात्तीको घाँटीमा गत बुधबार नयाँ स्याटलाइट कलर राखेर निकुञ्जले निगरानी (ट्रयाक) गर्न थालेको छ । उक्त हात्ती शनिबार राति पटिहानी छितामाइ राप्तीखोलापारी पुगेको संकेतका आधारमा निकुञ्जका कर्मचारीले स्थानीयलाई सजग रहन आग्रह गरेका थिए ।

बस्तीमा आएर समस्या सिर्जना गर्ने बाघ र हात्तीलाई चितवन निकुञ्जको टोलीले निगरानीमा राख्ने र नियन्त्रणमा लिने समेत गर्दै आएको छ । तर गैंडाको हकमा त्यस्तो विशेष व्यवस्था भएको देखिदैन । ‘जंगली जनावरबाट हुने मानव मृत्युका घटना शून्यमा नै पुर्‍याउने चाहना भएपनि यसमा विभिन्न चुनौतिहरु छन्,’ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकले भने, ‘पर्याप्त जनचेतना दिँदै पुर्वाधार तयार गर्न सके मात्र यो सम्भव छ ।’

मान्छे पहिलाजस्तो जंगल जाँदैनन् । तर जंगली जनावरहरु अचेल बस्ती छिर्न थालेका छन् । हात्ती, गैंडा र चित्तलहरु धान, मकै र गहुँबाली खान जंगलबाट बाहिर निस्कने गरेको अध्यक्ष गायकले बताए ।

वन्यजन्तुबाट जोगिने विषयमा मध्यवर्ती समिति, निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षाकालागि तैनाथ नेपाली सेनाले तयारी गर्दै आएको गायक बताउँछन् । जनावरलाई वस्तीमा आउन नदिन मेस जाली, तारबार र कंक्रिट पर्खालसमेत लगाउने गरेको उनले बताए । तैपनि वन्यजन्तु आउन भने छाडेका छैनन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology