नवलपुरमा सडक दुर्घटनाको कहालीलाग्दो तथ्यांक : एक वर्षमै ६९ जनाको मृत्यु

नवलपुरमा सडक दुर्घटनाको कहालीलाग्दो तथ्यांक : एक वर्षमै ६९ जनाको मृत्यु

कावासोती । नवलपुरमा सडक दुर्घटना भयावह बन्दै गएको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर भएका ११८ वटा सडक दुर्घटनामा ६९ जनाले ज्यान गुमाएका छन्। अर्थात् औसतमा प्रत्येक महिना करिब ६ जना सडक दुर्घटनाकै कारण मृत्यु भएको तथ्यांकले देखाएको छ। तीन वर्षयताकै तथ्यांकमा यो सबैभन्दा बढी मानवीय क्षति हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले बिहीबार सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा ११८ वटा दुर्घटनामा ६९ जनाको मृत्यु भएको हो।

पत्रकार सम्मेलनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक कुशलकुमार वर्तौलाले अधिकांश दुर्घटना चालकको असावधानी र ट्राफिक नियम उल्लङ्घनका कारण भएको बताए।

ट्राफिक कार्यालयको त्रिवर्षीय तथ्यांकले पनि दुर्घटनाबाट हुने मानवीय क्षति बढ्दो क्रममा रहेको देखाउँछ। आर्थिक वर्ष २०८०/८१ मा १३५ वटा दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने २०८१/८२ मा ११० वटा दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका थिए। तर २०८२/८३ मा दुर्घटनाको संख्या ११८ पुगे पनि मृत्यु हुनेको संख्या एकै वर्षमा ५६.८२ प्रतिशले बढेर ६९ पुगेको छ।

सवारीसाधनका आधारमा हेर्दा मोटरसाइकल तथा स्कुटर सबैभन्दा बढी दुर्घटनामा परेका छन्। गत आर्थिक वर्षमा मात्रै मोटरसाइकल तथा स्कुटर संलग्न ९१ वटा दुर्घटना भएका छन्। त्यसपछि बस, कार, जिप, ट्रक, ट्र्याक्टर तथा अन्य सवारीसाधनका दुर्घटना रहेका छन्। दुर्घटनाको कारण विश्लेषण गर्दा ११० वटा दुर्घटना चालकको लापरबाहीका कारण भएको ट्राफिक कार्यालयको निष्कर्ष छ।

पछिल्लो समय निर्माण सम्पन्न भएको नारायणघाट–बुटवल सडकखण्डमा तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, जोखिमपूर्ण ओभरटेक गर्ने जस्ता प्रवृत्तिले दुर्घटना बढाएको देखिएको छ। यस्तै यान्त्रिक गडबडी, सडक पूर्वाधारको कमजोरी, ट्राफिक व्यवस्थापनमा रहेका समस्या, जनचेतनाको कमी, ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्ति तथा व्यावसायिक लाभलाई मात्र प्राथमिकता दिने मानसिकताले पनि दुर्घटना निम्त्याइरहेको ट्राफिक प्रहरीको भनाइ छ।
दुर्घटना भएपछि त्यसको कारणबारे गहन अध्ययन र विश्लेषण नहुँदा उस्तै प्रकृतिका दुर्घटना बारम्बार दोहोरिने गरेको सरोकारवालाहरू बताउँछन्।

पैदलयात्रीको असुरक्षित व्यवहार पनि दुर्घटनाको अर्को प्रमुख कारण बनेको छ। जथाभावी सडक काट्ने, जेब्रा क्रसिङ प्रयोग नगर्ने तथा सुरक्षित रूपमा सडक पार गर्ने पर्याप्त पूर्वाधार नहुँदा पैदलयात्रीसमेत दुर्घटनाको सिकार बनिरहेका छन्।

सडक खण्डका आधारमा हेर्दा मृत्यु हुनेमध्ये ४६ जना (६७ प्रतिशत) को ज्यान पूर्व–पश्चिम राजमार्ग मा गएको छ भने २३ जना (३३ प्रतिशत) को मृत्यु जिल्लाका भित्री सडकमा भएको छ। यसले जिल्लाको मुख्य राजमार्ग अझै पनि सबैभन्दा जोखिमपूर्ण सडकका रूपमा रहेको संकेत गर्छ।

पालिकागत विवरणअनुसार गैँडाकोट नगरपालिका मा सबैभन्दा बढी २१ जनाको मृत्यु भएको छ। त्यसपछि देवचुली नगरपालिका मा १६, कावासोती नगरपालिका मा १४, मध्यविन्दु नगरपालिका मा १२, हुप्सेकोट गाउँपालिका मा ३, विनयी–त्रिवेणी गाउँपालिका मा २ र बुलिङटार गाउँपालिका मा १ जनाको मृत्यु भएको छ। बौदीकाली गाउँपालिका मा भने गत आर्थिक वर्ष सडक दुर्घटनाबाट कुनै पनि मानवीय क्षति भएको छैन।

बढ्दो सडक दुर्घटनाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, चालक अनुशासन, सुरक्षित सडक पूर्वाधार र जनचेतना अभिवृद्धिमा अझ कडा पहल आवश्यक रहेको देखिएको छ। यदि दुर्घटनाका वास्तविक कारणको गहिरो अध्ययन गरी सुधारका उपाय तत्काल लागू गर्न नसकिए आगामी वर्षहरूमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अझ बढ्ने जोखिम रहेको सरोकारवालाहरूको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरणका लागि वर्षभर ट्राफिक नियमको कडाइ, दुर्घटना न्यूनीकरण अभियान, ट्राफिक सचेतना कार्यक्रम तथा मादक पदार्थ सेवन (मापसे) नियन्त्रण अभियान सञ्चालन गरेको जनाएको छ। कार्यालयका अनुसार आर्थिक वर्षभर २ हजार ३ सयभन्दा बढी स्थानमा सवारी चेकजाँच गरिएको, सयौं दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरिएको, विद्यालय, कलेज, नेपाली सेना, सशस्त्र प्रहरी तथा विभिन्न समूहमा ५३ वटा ट्राफिक प्रशिक्षण दिइएको र सडक सुरक्षा सम्बन्धी ३ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। यस्तै, मापसे नियन्त्रण अभियानअन्तर्गत ७ सयभन्दा बढी चेकजाँच गरी १ हजार ६ सयभन्दा बढी चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।

तर यति धेरै सचेतना, निगरानी र कारबाहीका कार्यक्रम सञ्चालन हुँदासमेत सडक दुर्घटनाबाट हुने मानवीय क्षति घट्न सकेको छैन। बरु अघिल्लो आर्थिक वर्षको तुलनामा मृत्यु हुनेको संख्या उल्लेख्य रूपमा बढेकाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनसँगै चालक अनुशासन, सडक पूर्वाधार सुधार र दुर्घटनाका कारणको गहिरो अध्ययन गरी ठोस सुधारका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता अझ टड्कारो बनेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology