“बीपीको आदेश थियो, त्यसैले बन्दुक उठाएँ”

“बीपीको आदेश थियो, त्यसैले बन्दुक उठाएँ”

कावासोती । वि.सं. २०१५ सालको आमनिर्वाचन प्रचार र संगठन निर्माणका क्रममा नवलपुरको डण्डा आईपुगेका बीपी कोइरालालाई भेट्दा दुलारीप्रसाद महतो जम्मा १२ वर्षका बालक थिए। त्यही भेटमा बीपीले स्नेही भावले ‘कान्छा’ भनेर दिएको नामले उनको जीवनको बाटो मात्र बदलेन, २०१८ सालको क्रान्तिमा १५ वर्षकै उमेरमा काँधमा बन्दुक भिरेर ‘भरतपुर गेस्ट हाउस काण्ड’को अग्रमोर्चामा उभ्याइदियो।

नवलपुरको कावासोती–१४ का महतो आज आठ दशकको उमेर पार गरिसक्दा पनि कुनै पद र लाभको दौडमा छैनन्; तर उनको स्मृतिमा नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा ओझेल परेको इतिहास अझै जीवन्त छ।

बीपीको नाम लिन साथ दुलारी केहीबेर रोकिए। उनका आँखा रसाए अनि भने, “बीपीको सरलताको के कुरा गर्नु! त्यस्तो मान्छे मैले आजसम्म देखेको छैन,” दुलारी पुराना दिन सम्झँदै भावुक बने, “उहाँलाई महामानव त्यसै भनिएको होइन। हामीले त प्रत्यक्ष बीपीसँग संगत गर्‍यौँ, उहाँकै आदेश र प्रजातन्त्र पुन:स्थापनाका लागि बन्दुकसम्म उठायौँ।”

डण्डाको त्यो भेट र सानै उमेरमा सल्किएको क्रान्तिको झिल्को

वि.सं. २०१५ साल। देश पहिलो आमनिर्वाचनको संघारमा थियो। नेपाली कांग्रेस गाउँ-गाउँ पुगेर संगठन विस्तार र चुनावी अभियानमा होमिएको थियो। तत्कालीन पाल्ही पूर्व निर्वाचन क्षेत्र नम्बर ५७ (अहिलेको नवलपुर) मा कांग्रेसका तर्फबाट पृथ्वीराज कँडेल उम्मेदवार थिए । उक्त निर्वाचनमा कंडेल  ६ हजार ८११ मत ल्याएर निर्वाचित भएका थिए ।

त्यही चुनावी दौडाहाका क्रममा बीपी कोइराला र नेता श्रीभद्र शर्मा नवलपुर आएका थिए। त्यतिबेला स्कुल पढ्दै गरेका १२ वर्षे बालक दुलारीलाई बीपी भेट्ने दुर्लभ अवसर मिल्यो।
“श्रीभद्र शर्माले बीपी आउँदै हुनुहुन्छ भनेर खबर ल्याउनुभएको थियो। हामी जंगलको बाटो हुँदै दौडिएर डण्डा पुग्यौँ,” दुलारी सम्झन्छन्।

डण्डामा बीपी स्थानीय डिल्लीराम चौधरीको घरमा बस्नुभएको थियो। दुलारी, डिल्लीराम चौधरी र सुबेदार प्रेमलालसहितका युवाहरूले त्यहीँ बीपीलाई भेटे। बीपीले उनीहरूलाई संगठन, प्रजातन्त्र र जनताको अधिकारबारे प्रशिक्षण दिनुभयो। त्यो संक्षिप्त प्रशिक्षणले कलिला बालक दुलारीको जीवनको बाटोनै बदलिदियो। “उहाँको कुरा सुनेपछि देशका लागि केही गर्ने मान्छे यही हो भन्ने विश्वास जाग्यो,” उनले भने।

त्यसपछि दुलारी चुनावी प्रचारमा सक्रिय भए। स्कुल पढ्दै गरेका उनी साथीहरूसँग गाउँ–गाउँ पुगेर पर्चा बाँड्ने, मानिस भेट्ने र कांग्रेसको पक्षमा जनमत बनाउने काममा लागे। तर, त्यो समय सहज थिएन; गाउँमा जमिन्दारहरूको दबदबा थियो। दिउँसो जमिन्दारको दबाबमा भवानीशंकर (स्वतन्त्र उम्मेदवार) को प्रचार सामग्री बाँड्नुपर्ने बाध्यात्मक परिस्थिति हुन्थ्यो भने राति गुप्त रूपमा पृथ्वीराज कँडेलको पक्षमा प्रचारमा निस्कन्थे। “दिउँसो एउटा परिस्थिति हुन्थ्यो, तर राति हामी आफ्नो विश्वासको काम गर्थ्यौँ,” संघर्षका ती कठिन दिन सम्झँदै उनी भन्छन्।

“काठमाडौँ आउँदा माछा लिएर आउ है कान्छा!”

पछि जेलबाट छुटेपछि भारतमा निर्वासनमा जानू अगाडि भूमिगत राजनीतिक गतिविधिका क्रममा बीपी फेरि नवलपुर आउँदा दुलारीप्रसाद महतोकै घरमा बस्नु भएको स्मरण गर्दै दुलारीले भने, “अहिले त्यो पुरानो घर छैन, अंशबण्डापछि भत्किसकेको छ।”  दुलारी अहिले त्यही ठाउँभन्दा केही पर बनेको अर्को कच्ची घरमा बस्छन्। तर, बीपीसँग जोडिएका सम्झनाहरू भने अझै ताजा छन्।

मुलुककै ठूलो नेता भएर पनि बीपीले सामान्य किसान परिवारको घरमा बसेर सादा जीवन बिताउनुभयो। घरमा जे पाक्यो त्यही खाने, सामान्य ओछ्यानमा सुत्ने र आफैँ पानी निकालेर नुहाउने बीपीको सादगीले दुलारीलाई गहिरोसँग छोयो। बीपीले उनलाई मायाले ‘कान्छा’ भनेर बोलाउने गर्नुहुन्थ्यो। “मलाई असाध्यै माया गरेर ‘कान्छा’ भन्नुहुन्थ्यो। ‘अब कान्छालाई म पढाउँछु’ भन्नुहुन्थ्यो,” दुलारी मुस्कुराउँदै सम्झन्छन्।

बीपी गाउँ–गाउँ संगठन विस्तारमा निस्कँदा दुलारी पनि सँगै हिँड्थे। साँढ, ट्याङ्गरी, बद्रुवा, कोल्हुवा र सर्दीसम्म पुगेर उनीहरूले संगठन निर्माणको काम गरे। बीपीलाई स्थानीय माछा मन पर्ने भएकाले दुलारी आफैँ कुलोमा पसेर समातेको माछा खुवाउँथे। “काठमाडौँ आउँदा यस्तै माछा लिएर आउ है कान्छा भन्नुभएको थियो,” बीपीको त्यो भनाइ दुलारीको मनमा अझै गुञ्जिरहन्छ।

२०१७ को प्रजातन्त्र माथी राजाको कु, इतिहासबाट छुटेका दुलारी र चर्चित ‘भरतपुर गेस्ट हाउस काण्ड’

वि.सं. २०१५ मा बीपी प्रधानमन्त्री बनेको खबर पाउँदा दुलारी सबैभन्दा धेरै खुसी भएका थिए। तर, त्यो खुसी लामो समय टिकेन। वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रमाथि धावा बोल्दै निर्वाचित सरकार बर्खास्त गरे र बीपीलाई पक्राउ गरी जेल हाले। राजाको यो निरंकुश कदमपछि दुलारी आन्दोलनमा उत्रिए। उनले गाउँका युवासँग मिलेर विरोध प्रदर्शन गरे र प्रहरीको लाठी समेत खाए।

२०१८ सालमा नेपाली कांग्रेसले प्रजातन्त्र पुन:स्थापना र बीपीको रिहाइको माग गर्दै देशभर सशस्त्र क्रान्तिको आह्वान गर्‍यो। बीपी र पार्टीको त्यही आह्वानमा दुलारी सशस्त्र टोलीसँगै क्रान्तिमा होमिए। “पार्टीको आह्वान र आफ्ना नेता बीपीको रिहाइका लागि जुनसुकै जोखिम मोल्न हामी तयार थियौँ,” दुलारी त्यो ऐतिहासिक क्षण सम्झन्छन्।

त्यसबेला नवलपुरका नेता सूर्यभक्त अधिकारीको घर गैंडाकोटमा क्रान्तिको गुप्त योजना बनेको थियो। त्यतिबेला नारायणी नदीमा पुल थिएन। दुलारीसहितको टोली नारायणी नदिको भोसरघाट (पिठौली)बाट डुङ्गा चढेर नदी पार गर्‍यो। त्यसपछि अहिलेको चितवन राष्ट्रिय निकुञ्जको घना जंगलको बाटो हुँदै उनीहरू मेघौली पुगे र त्यहाँबाट भरतपुरतर्फ अघि बढे।

उनीहरू इतिहासमै चर्चित ‘भरतपुर गेस्ट हाउस काण्ड’ (भरतपुर कब्जा अभियान) मा सहभागी हुन त्यसतर्फ पुगेका थिए। तर, अचम्म र दुखद कुरा के छ भने, इतिहास लेख्नेहरूले कि त चालै पाएनन् कि त छुटाए— त्यो चर्चित र भयानक भरतपुर गेस्ट हाउस काण्डमा दुलारीहरूको नाम कतै दर्ता नै भएन। मात्र १५ वर्षको उमेरका एक निडर किशोर दुलारी त्यसबेला मृत्युको प्रवाह नगरी क्रान्तिको अग्रमोर्चामा उभिएका थिए भन्ने तथ्य इतिहासका ठेलीहरूमा कतै उल्लेख भएन।

त्यहाँ शाही सेनाको कडा प्रतिकार र भयानक भिडन्त सामना गर्नुपर्‍यो। भिडन्तमा धेरै कांग्रेस कार्यकर्ता र सहयोद्धा मारिए, तर १५ वर्षे ती किशोर दुलारी भने ज्यान जोगाएर फर्कन सफल भए।

बीपी भारत निर्वासनमा गएपछि दुलारीलाई पनि बोलाइएको थियो। तर, वृद्धा आमाले भारत जान नदिएपछि उनी नवलपुरमै रोकिए र खेतीपातीमा लागे।

बीपीसँग पुनर्मिलन र  त्यो दूरदर्शी सन्देश

आमाले भारत जान रोके पछि यतै खेतीपातीमा रमाएका  दुलारीको बीपीसँग  वि.सं. २०३६ सालमा चितवनमा पुनर्मिलन भएको थियो । त्यतिबेला देशमा ऐतिहासिक जनमत सङ्ग्रहको माहोल थियो। बीपीले नवलपुरबाट आफू सहित केही युवाहरूलाई चितवन बोलाउनुभएको दुलारी सम्झन्छ्न  ।

एक दशक पछिको त्यो भेटमा बीपीले युवाहरूलाई हौसला दिँदै भनेका शब्दहरू दुलारीलाई अझै पनि झल्झली याद आउँछन्। “ल केटा हो अब धेरै दुःखको दिन छैन। निलो (बहुदल) को पक्षमा प्रचार गर र जिताऊँ, प्रजातन्त्र छिट्टै आउँछ,” बीपीले दिएको त्यो मन्त्र सम्झँदै दुलारी भन्छन्।

जनमत सङ्ग्रहमा अस्वाभाविक रूपमा बहुदलको हार भएपछि दुलारी पुन: बीपीलाई भेट्न काठमाडौँ पुगे। त्यतिबेला बीपीसँगै गिरिजाप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । बीपीको स्वास्थ्य दिनानुदिन बिग्रँदै गइरहेको थियो, तर उहाँको क्रान्तिकारी चेत र प्रजातन्त्रप्रतिको अगाध विश्वास कायमै थियो।

आफ्नो अस्वस्थताका बीच बीपीले दुलारीलाई भन्नुभएको त्यो ऐतिहासिक भनाइ दुलारीको मानसपटलमा अझै ताजा छ: “चिन्ता गर्नुपर्ने केही कारण छैन दुलारी! म अस्वस्थ हुँदै गएको छु, म नभए पनि तिमीहरूले उसलाई (गिरिजाप्रसादलाई) सबै कुरा भन्नु। बहुदल त यो देशमा आउँछ, आउँछ!” बीपीको त्यो कुरा सम्झँदै दुलारी एकैछिन घोरिन्छन् र भन्छन्, “त्यस्तो पछि सम्म देख्ने नेता त अब के पाइएला र खै?”

पद विहीन निष्ठा र ओझेल परेका योद्धा

बीपीसँगको लामो संगत, प्रजातन्त्र पुन:स्थापनाको क्रान्ति र बन्दुक बोकेको इतिहास भए पनि दुलारीले जीवनमा कहिल्यै पद वा लाभको सौदाबाजी गरेनन्। “मलाई पद कहिल्यै चाहिएन। अरूलाई बनाउन सहयोग गरेँ,” उनी भन्छन्।

दुई पटक जिल्ला सदस्य बनेका उनी त्यसपछि पनि सधैँ कार्यकर्ताकै भूमिकामा सीमित रहे। आज उनको एउटै मात्र  गुनासो छ— प्रजातन्त्रका लागि संघर्ष गरेका र रगत-पसिना बगाएका पुराना पुस्तालाई पार्टीले बिर्सँदै गएकोमा। “मेरो व्यक्तिगत गुनासो केही छैन, तर प्रजातन्त्रका लागि लडेका र संघर्ष गरेका मान्छेहरूलाई पार्टीले सम्झिदिए हुन्थ्यो,” उनी भन्छन्।

कावासोतीको त्यो साधारण कच्ची घरमा इतिहासको कुनै ठूलो शिलालेख टाँसिएको छैन। तर, त्यही सामान्य घरमा नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको एउटा जीवित इतिहास श्वास फेरिरहेको छ।

बीपीले ‘कान्छा’ भनेर बोलाएको त्यो १२ वर्षे बालक आज ८० वर्षको वृद्ध भइसकेका छन, तर उनको स्मृतिमा बीपी अझै उस्तै हुनुहुन्छ— सरल, आत्मीय, क्रान्तिकारी र दूरदर्शी नेता।

– दुलारी प्रसाद महतो सँगको कुराकानीमा आधारित 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology