कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर भरतपुर महानगरपालिका वडा नम्बर २३ मा दुई जनाको ज्यान लिएको जंगली भाले हात्ती ‘ध्रुवे’ दुई दिनदेखि बेपत्ता भएको छ ।
प्रायः निकुञ्जको सुखीभार क्षेत्रमा रहने ध्रुवेको खोजीका लागि निकुञ्जको टोली परिचालन गरिएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गणका सैनिकसहितको टोलीले खोजी जारी राखे पनि ध्रुवेलाई फेला पार्न सकेको छैन ।
घाँटीमा जडान गरिएको रेडियो कलरले समेत सिग्नल नदेखाएपछि हात्तीको अवस्थाबारे पत्ता लगाउन कठिन भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए । निकुञ्जको कोर क्षेत्रमा हात्ती पुगेमा घाँटीमा जडान गरिएको रेडियो कलरले सिग्नल नदिने गर्छ ।
गत असार २० गते राति भरतपुर–२३ बेलहठ्ठामा सुतिरहेका बेला २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान लिएपछि निकुञ्जले ध्रुवेको घाँटीमा नयाँ रेडियो कलर जडान गर्ने र दाह्रा काट्ने तयारी गरेको थियो ।
ध्रुवेको गतिविधि निगरानी गर्न हाल प्रयोग भइरहेको जीपीएस रेडियो कलर हटाएर स्याटलाइट प्रणालीको नयाँ रेडियो कलर जडान गर्ने तयारी गरिएको सूचना अधिकारी थापाले बताए । नयाँ रेडियो कलरसमेत आइसकेकाले ध्रुवेलाई डार्ट (बेहोस) गरी त्यसैक्रममा दाह्रा काट्ने योजना निकुञ्जको छ । ध्रुवे जहाँ भेटिन्छ, त्यहीँ डार्ट गर्ने तयारीसहित निकुञ्जको टोली खोजीमा लागेको छ । दुई दिनदेखि खोजी गर्दा पनि ध्रुवे नभेटिएपछि प्रक्रिया ढिलाइ भएको निकुञ्जले जनाएको छ ।
‘ध्रुवे अति बाठो छ । आफूलाई कसैले पछ्याइरहेको वा खतरा महसुस हुनेबित्तिकै ऊ भाग्छ र सम्पर्कमा रहँदैन,’ थापाले भने, ‘पहिला पनि सेनाले लखेटेको र गोली हानेको हुनाले उसले सैनिक पोसाक देख्नेबित्तिकै भागिहाल्छ । केही समय बेपत्ता नै हुन्छ ।’
ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरी मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि यी दुई आमा–छोराको ज्यान लिएको हो । प्राय निकुञ्जको सुखीभार क्षेत्रमा रहने यो हात्ती अचानक बस्तीतर्फ निस्किएको थियो । घटनाको भोलिपल्ट ध्रुवे मेघौली क्षेत्रमा देखिएको थियो । मेघौलीमा देखिएको ध्रुवे दुईदिन देखि बेपत्ता छ ।
Facebook Comment