देशको ’लाइफ लाइन’ सडकको बेहाल : यात्रुलाई सधैँको सास्ती

प्रेम न्यौपाने
प्रकाशित : २०८२ जेठ ३ गते ८:३७
देशको ’लाइफ लाइन’ सडकको बेहाल : यात्रुलाई सधैँको सास्ती

कावासोती । गत सोमबार राती बुटवल–नारायणगढ सडक खण्डको चोरमारा स्थित गिरुवारी खोलाको पुल भासिँदा देशको लाइफ–लाइन पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भयो । अचानक सडक अवरुद्ध भएपछि सो राजमार्ग भएर यात्रा तय गरेका सयौँ यात्रुहरुले  १४ देखि १८ घण्टासम्म अलपत्र अवस्थामा भोकोपेट बाटोमै रात काटे । बीच बाटोमा अलपत्र परेका यात्रुलाई सरकारले न वैकल्पिक बाटोको व्यवस्था गर्न सक्यो, न त उक्त सडक खण्ड तत्काल सुचारु गर्न नै सक्यो ।

यस अघि गत चैत २७ गते समेत रातिको वर्षाले बाटो चिप्लो भएका कारण सोही सडक खण्ड अन्तर्गत दाउन्ने पहाड क्षेत्रको १४ किलोमिटर सडक अवरुद्ध भएको थियो । पहिल्यै यात्रा तय गरेकाहरू उक्त खण्डमा १२ देखि १४ घण्टासम्म अड्किन पुगे । यी बाहेक थुप्रै पटक कहिले बाढीले खोलाको डाइभर्सन बगाएर त कहिले सुक्खा पहिरोका कारण बारम्बार सडक अवरुद्ध हुँदा देशको लाइफ लाइनका रुपमा रहेको सो सडक खण्ड भएर हिड्ने यात्रुहरुले सधैँको सास्ती खेप्नु परिरहेको छ ।

केही महिना अघि बिनयी त्रिवेणीस्थित बिनयी खोलाको पुल भत्किँदा ३४ घण्टासम्म पूर्व–पश्चिम राजमार्ग ठप्प भएको थियो। हजारौँ यात्रु अलपत्र पर्नुका साथै खाद्यान्न, औषधी, निर्माण सामग्री ढुवानी समेत प्रभावित भएको थियो। हाल सो पुल डाइभर्सनमार्फत सञ्चालनमा आए पनि स्थायी मर्मत गरिएको छैन। देशको ’लाइफ लाइन’ सडक बन्द भएर बारम्बार बाटोमै अड्किनु परेपछि त्यसले यात्रुमा ठूलो मानसिक त्रास उत्पन्न गराएको छ ।

अहिले पनि दाउन्ने क्षेत्रमा निर्माण कार्य चलिरहेकाले उक्त बाटोमा सवारीको जाम लाग्ने गरेको छ  । सामान्य वर्षा भयो भनेपनि बाटो चिप्लिएर सवारी आवागमन ठप्प हुन्छ ।
सानोतिनो पानी पर्दा त त्यसरी घन्टौं बन्द हुने उक्त सडक खण्ड आउने मनसुनमा के होला भन्ने विषयलाई यतिबेला आम चासोको रुपमा हेरिएको छ । अहिले सामान्य अवस्थामा पनि दाउन्नेको १४ किलोमिटर दुरी पार गर्न कम्तीमा ३ घण्टाको समय लाग्ने गरेको छ । वर्षा सुरु भएपछि त्यो बाटोको यात्रा कष्टपूर्ण र यात्रुका लागि अत्यन्तै पिडादायिक हुने र मनसुनअघि नै समस्या समाधान नगरिए बुटवल–नारायणगढ सडक खण्डमा यात्रुले थप दुःख पाउने निश्चित छ ।

नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका  सूचना अधिकारी इन्जिनियर शिव खनालले वर्षा अगाडि नै पूर्वी खण्डको दाउन्ने र  दुम्किबास स्थित विनयी खोलाको डाइभर्सनमा देखिएको समस्या समाधान हुने वताए । विनयी खोलाको नयाँ पुल निर्माणको काम वर्षा अगावै सकिने भएकाले बर्षको समयमा विनयी खोलामा यात्रुले दुःख नपाउने उनले वताए । चोरमारा स्थित गिरुवारी खोलाको पुलको मर्मत कार्य सकिन भने समय लाग्ने खनालको भनाई छ । वर्षामा यात्रुहरुलाई दुःख नहोस भनेर प्राथमिकताका साथ काम भईरहेको खनालले बताए ।

बुटवल–नारायणगढ पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले आउँदो वर्षामा दाउन्ने क्षेत्रको सडक हिलाम्मे हुन नदिन तदारुकताका साथ काम गरिएको भएपनि बाटोमा फिलिङ् गर्ने नदीजन्य पदार्थको चरम अभाव रहेकाले सोंचे अनुसार काम गर्न नसकिएको बताए । विगत लामो समयदेखि नदीजन्य सामग्री उपलब्ध गराउन सम्बन्धित निकायमा हारगुहार गर्दा समेत एक बेल्चा गिटी पनि नपाएको मिश्रले गुनासो गरे । समयमै नदीजन्य सामग्री पाउने हो भने अबको दुई हप्ता भित्रमा दाउन्नेमा ब्याक कटिङको काम सकेर ग्राबेल गर्ने तयारीमा आफुहरु रहेको बताए ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सडक निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ उपलब्ध गराउनका लागि समस्या नहुने बताएका छन् । सडक निर्माणको कामलाई प्रमुख प्राथमिकतामा राखिएकोले नदी तथा खोलाहरु रहेका सम्बन्धित पालिका, वन डिभिजन कार्यालय र सामुदायिक वनहरुसँग समन्वय गरी नदीजन्य सामग्रीको सहज निकासी दिन कुनै समस्या नभएकाले त्यसका लागि पत्राचार गरी समन्वय गर्न सडक आयोजनालाई आग्रह गरिएको प्रजिअ रेग्मीले बताए ।

अहिले नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको कुल भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । आयोजनाका अनुसार अप्रिल २०२५ मा आयोजना सुरु भएयताकै उच्च अर्थात् ३.६३ प्रतिशत भौतिक प्रगति भएको हो । मे २०२५ मा यो रेकर्डलाई समेत तोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोजनाले रातको समयमा सवारी आवागमन रोकेर धमाधम काम भइरहेको जनाएको छ ।

२०७९ साउन २२ सम्ममा काम सक्नेगरी ६ वर्ष अघि चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रा लि सँग २०७५ माघ २४ गते सम्झौता भइ नारायणघाट–बुटवल सडक खण्ड विस्तारको काम सुरु भएको थियो । सोही सम्झौता बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोको शिलन्यास गरेका थिए । तर सडक निर्माण सुरु भएको ६ वर्षको अवधिमा भौतिक प्रगति भने ६५ प्रतिशत मात्रै रहेको छ । सडक विस्तारको काम निर्धारित मितिमा नसकिएपछि २०८० साउन ११ सम्म पहिलोपटक, २०८१ साउन ८ गतेसम्म दोस्रोपटक र २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । तेस्रोपटक थपिएको म्याद समेत आगामी साउन ८ मा सकिंदैछ । तथापि सो अवधिमा पनि सडक बिस्तारको कामले पूर्णता पाउन नसक्ने निश्चित जस्तै भईसकेको छ ।

प्रकाशित : २०८२ जेठ ३ गते ८:३७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI