समुदायले सन्चालन गरेको प्राकृतिक चिकित्सालय पनि ३ प्रतिशत समता करको दायरामा

NAWALPUR TIMES

समुदायले सन्चालन गरेको प्राकृतिक चिकित्सालय पनि ३ प्रतिशत समता करको दायरामा

कावासोती । सरकारले आर्थिक ऐन, २०८३ मार्फत व्यवस्था गरेका नयाँ कर तथा शुल्कसम्बन्धी प्रावधान शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको छ। स्वास्थ्य सेवामा ३ प्रतिशत समता शुल्क तथा अन्य करसम्बन्धी व्यवस्था साउन १ गते देखि लागू भएका हुन्।

नयाँ व्यवस्थाले निजी स्वास्थ्य संस्थाबाट सेवा लिने सेवाग्राही तथा अभिभावकमाथि प्रत्यक्ष आर्थिक प्रभाव पार्ने देखिएको भए पनि दिनको एक सय रुपैयाँ खाना शुल्क र एक सय रुपैयाँ बेड शुल्क लिएर उपचार सेवा प्रदान गर्दै आएको नवलपुरको सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरमा उपचार गराइरहेका बिरामीसमेत ३ प्रतिशत स्वास्थ्य करको मारमा परेका छन्।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत स्वास्थ्य सेवामा ३ प्रतिशत स्वास्थ्य कर लागू गरेपछि गैरनाफामूलक तथा समुदायस्तरबाट सञ्चालित यस चिकित्सालयका बिरामीले समेत अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था आएको चिकित्सालयका महाप्रबन्धक हरि सापकोटाले बताए ।

विभिन्न अस्पतालमा लामो समय उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि अन्तिम आशा बोकेर प्राकृतिक चिकित्सालय पुगेका बिरामीहरूले अब उपचार खर्चमा थप कर तिर्नुपर्दा सरकारप्रति गुनासो व्यक्त गरेका छन्। उनीहरूका अनुसार न्यूनतम शुल्कमा सेवा दिने संस्थामा समेत कर लगाइनुले आर्थिक रूपमा कमजोर बिरामीलाई थप भार पर्ने भएको हो ।

सामुदायिक प्राकृतिक चिकित्सालय रजहरले आर्थिक रूपमा विपन्न नागरिक, सडक बालबालिका, एकल महिला, द्वन्द्वपीडित तथा समाजका अन्य कमजोर वर्गलाई लक्षित गर्दै न्यूनतम सेवा शुल्कमा उपचार सेवा उपलब्ध गराउँदै आएको छ। यस्ता गैरनाफामूलक संस्थामा उपचारलगायतका सेवामा समेत कर लगाइनु उपयुक्त हो वा होइन भन्ने विषयमा स्थानीयस्तरमा बहस सुरु भएको छ।

स्थानीय नागरिकहरूका अनुसार शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा करको भार थप्नु जनमुखी नीतिभन्दा विपरीत हुन सक्छ। उनीहरूले विश्वका धेरै मुलुकमा शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ वा निःशुल्क रूपमा उपलब्ध गराइने उदाहरण दिँदै नेपालमा भने स्वास्थ्य सेवामा कर थपिनु र स्वास्थ्य बीमा प्रणालीसमेत प्रभावकारी हुन नसक्दा सर्वसाधारण थप आर्थिक दबाबमा परेका छन्।

कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रुपमा ख्याति कमाएको यस अस्पतालमा प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिना औषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा  उपचार सेवा लिन आउनेको सङ्ख्या यहाँ हरेक दिन बढ्ने गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology