सामुदायिक प्राकृतिक चिकित्सालमा मनाईयो प्राकृतिक चिकित्सा दिवस

सामुदायिक प्राकृतिक चिकित्सालमा मनाईयो प्राकृतिक चिकित्सा दिवस

कावासोती । नवौं  राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस विविध कार्यक्रम गरी मनाइएको छ। शनिबार दिवसको अवसरमा नवलपुरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा शुभकामना आदान–प्रदान तथा निःशुल्क प्राकृतिक स्वास्थ्य उपचार प्रदान गरिएको हो।

आयोजित कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। नगर प्रमुख न्यौपानेले प्राकृतिक चिकित्सा दिवसको शुभकामना दिँदै प्राकृतिक उपचार आफैंले अनुभव गरेको कारण यो उपचार पद्धति प्रभावकारी रहेको बताउनुभयो। उहाँले आफू पनि विभिन्न रोगबाट ग्रसित भएको र रजहरस्थित प्राकृतिक चिकित्सालयमा उपचार लिएपछि शरीरमा सहजता महसुस भएको बताउनुभयो।

कार्यक्रममा देवचुली नगरपालिका वडा नं। १७ का वडा अध्यक्ष दिपक शर्मा चालीसे, अस्पतालका निवर्तमान अध्यक्ष सन्तबहादुर क्षेत्री, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, इलाका प्रहरी कार्यालय रजहरका प्रमुख, चिकित्सालय सञ्चालक समितिका पदाधिकारी सदस्यलगायतको उपस्थिति रहेको थियो।

अस्पतालका अध्यक्ष प्रदीपराज घिमिरेको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले अस्पतालले आयोजना गरेको प्राकृतिक चिकित्सा दिवस, शुभकामना आदान–प्रदान तथा निःशुल्क उपचार कार्यक्रममा सहभागी हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा अस्पतालका उपनिर्देशक डा. आजाद पुरीले प्राकृतिक चिकित्सा र यसको उपचार पद्धतिबारे जानकारी दिनुभएको थियो। कार्यक्रमको सहजीकरण अस्पतालका सचिव नेत्रबहादुर पाण्डेले गर्नुभएको थियो।

शुभकामना आदान–प्रदानपछि निःशुल्क प्राकृतिक उपचार सेवा प्रदान गरिएको थियो। चिकित्सालयले आयोजना गरेको निःशुल्क उपचार कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उपचारमा सहभागीहरूले दिवसका अवसरमा आयोजित कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology