नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकामा सञ्चालित ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन (जीईईपी) कार्यक्रम’ अन्तर्गत आयोजना गरिएको लगानी प्रस्तुति कार्यक्रम तथा सर्वोत्कृष्ट उद्यमी घोषणा समारोह सम्पन्न भएको छ।
हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिं राना मगर को प्रमुख आतिथ्यता तथा दायित्व संस्थाका गण्डकी प्रदेश वरिष्ठ प्रबन्धक शुलभ नेपाल को अध्यक्षतामा सम्पन्न कार्यक्रम गाउँपालिकाको सभाहलमा आयोजित गरिएको थियो। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, हुप्सेकोट गाउँपालिका र दायित्व संस्थाको संयुक्त साझेदारीमा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित जीईईपी कार्यक्रम अन्तर्गत उक्त समारोह आयोजना गरिएको हो।
स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा गाउँपालिकाभित्रका उत्कृष्ट १० जना उद्यमीले आफ्ना व्यवसायिक योजना, हालसम्मको प्रगति र भावी रणनीतिबारे प्रस्तुति दिएका थिए।
प्रस्तुतिपछि गरिएको सघन मूल्याङ्कनका आधारमा ‘थमन अर्गानिक एग्रि फार्म’का सञ्चालक थमन बहादुर रजाली मगर सर्वोत्कृष्ट उद्यमी घोषित भएका छन्। निर्णायक मण्डल तथा मूल्याङ्कनकर्ताबाट प्राप्त २० पूर्णाङ्कमध्ये १९ अंक प्राप्त गर्दै उनले शीर्ष स्थान हासिल गरेका हुन्।
कडा प्रतिस्पर्धाका बीच ‘मित्रबाटिका कृषि फार्म’की सञ्चालक बाटुली तिवारी ले १८.५ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेकी थिइन्। त्यसैगरी देवका पोखरेल, चिजा गुरुङ, बन्दना आले, शेरबहादुर (सागर) गाहा मगर, ग्यामबहादुर रुहाली मगर, सिर्जना परियार, आसबहादुर गाहा र कृष्णप्रसाद पोखरेल उत्कृष्ट १० उद्यमीको सूचीमा परेका थिए।
उद्यमीहरूको मूल्याङ्कनका लागि गठित विज्ञ जुरी प्यानलमा हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी, कुमारी बैंकका शाखा प्रमुख अवधेश महतो, उद्योग संघका प्रतिनिधि पिताम्बर कोइराला, दायित्व संस्थाका वरिष्ठ प्रबन्धक शुलभ नेपाल तथा उद्योग तथा पर्यटन मन्त्रालयका प्रतिनिधि विक्रम सुवेदी सहभागी थिए।
जुरी सदस्यहरूले उद्यमीहरूको नवप्रवर्तन क्षमता, स्थानीय कच्चा पदार्थको प्रयोग, व्यवसायको दिगोपना तथा रोजगारी सिर्जना गर्ने सम्भावनाका आधारमा मूल्याङ्कन गर्नुका साथै आवश्यक सुझाव र पृष्ठपोषण समेत प्रदान गरेका थिए।
त्यसैगरी उद्यमीहरूको प्रस्तुति पश्चात् व्यवसायमा देखिएका चुनौती, अवसर र सुधारका सम्भावनाबारे प्रश्नोत्तर तथा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो। उद्यम विकास तथा प्रवर्द्धनका लागि सुझाव दिन गठित सुझाव मण्डलमा पशु विकास शाखा प्रमुख बुद्धिबहादुर देउजा, कृषि विकास शाखा प्रमुख ऋचा देवकोटा, रोजगार संयोजक तीर्थराज रेग्मी तथा सहकारी क्षेत्रका प्रतिनिधि विश्वनाथ पाण्डे सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष पूर्णसिं राना मगर ले जीईईपी कार्यक्रमले विशेषगरी युवाहरूलाई स्वदेशमै उद्यम गर्न प्रेरित गरेको बताए। उनले स्थानीय उत्पादन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी ले स्थानीय सरकार उद्यमशीलता विकास र युवाहरूलाई स्वरोजगार बनाउने अभियानमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक बजेट तथा नीतिगत सहयोगलाई निरन्तरता दिइने बताए ।
कार्यक्रमको समापनमा दायित्व संस्थाका गण्डकी प्रदेश वरिष्ठ प्रबन्धक शुलभ नेपाल ले ग्रामीण क्षेत्रमा लुकेर रहेका सम्भावनायुक्त उद्यमहरूलाई पहिचान गरी बजार, प्रविधि र वित्तीय पहुँचसँग जोड्न जीईईपी कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उहाँले गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पनि कार्यक्रम निरन्तरताको बजेट व्यवस्था गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै हुप्सेकोट गाउँपालिकाले समेत यस कार्यक्रमलाई आगामी बजेट तथा कार्यक्रममा समेट्ने विश्वास व्यक्त गरे ।
दायित्व संस्थाले नेपालका विभिन्न स्थानीय तहमा आर्थिक समृद्धि र उद्यमशीलता विकासका लागि नवप्रवर्तनकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ। जीईईपी कार्यक्रममार्फत संस्थाले स्थानीय उद्यमीलाई व्यवसायिक साक्षरता, नेतृत्व विकास, प्राविधिक सहयोग, बजार व्यवस्थापन तथा वित्तीय पहुँचका क्षेत्रमा सघन मेन्टरसिप प्रदान गर्दै आएको जनाएको छ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विष्णु राना, विभिन्न जनप्रतिनिधि, शाखा प्रमुख, पत्रकार, विद्यार्थी तथा स्थानीय उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
Facebook Comment