नवलपुर : खण्डहर बनेको भृकुटी कागज कारखानाको तत्काल व्यवस्थापन र श्रमिकको बाँकी पारिश्रमिक भुक्तानी नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ। ‘सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिबार अभियान’ मा आबद्ध स्थानीय युवा तथा सचेत नागरिकहरूले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
वि.सं. २०४० सालमा स्थापना भई २०६७ सालदेखि पूर्ण रूपमा बन्द रहेको यस कारखानाका करिब ३३३ जना मजदुरहरूले ४० करोड रुपैयाँभन्दा बढीको पारिश्रमिक अझै पाउन नसकेको ज्ञापनपत्रमा उल्लेख छ। सरकारी स्वामित्वबाट निजी क्षेत्र (गोल्छा समूह) लाई हस्तान्तरण भएपछि कारखाना खण्डहरमा परिणत भएको र श्रमिकहरू चरम अन्यायमा परेको अभियानले जनाएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा अभियानका संयोजक गणेश सापकोटाले कारखानाको दुरावस्थाले नगरको सौन्दर्य र सुरक्षामा गम्भीर असर पुर्याएको बताए। उनले भने, ‘गैँडाकोटको मुटुमा रहेको यो ऐतिहासिक कारखाना अहिले खण्डहरमा परिणत भएको छ। ६० बिघा क्षेत्रफलमा फैलिएको यो संरचनाले नगरको सौन्दर्य र सुन्दरतालाई पूर्ण रूपमा बिगारेको छ। हाल यो ठाउँ दुर्व्यसनीहरूको अखडा बनेको छ, जसले गर्दा स्थानीय नागरिकहरूमा सुरक्षाको त्रास बढेको छ।’
संयोजक सापकोटाले कारखानाको जीर्ण अवस्थाका कारण निम्तिएको जोखिमबारे थप स्पष्ट पार्दै भने, ‘हावाहुरी आउँदा जीर्ण भवनका टिनका पाताहरू उडेर बस्तीमा पुग्ने जोखिम छ। यसलाई यसरी नै बेवारिसे छाड्नुको सट्टा तत्काल व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गरिनुपर्छ।’
अभियानले मुख्य गरी दुईवटा मागहरू अघि सारेको छ। जसमा ३३३ जना श्रमिकको ४० करोड बक्यौता तत्काल भुक्तानी गरिनुपर्ने र ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी उत्पादनमूलक क्षेत्र वा व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग रहेको छ।
अभियानले सरकारलाई ५ दिनको ‘अल्टिमेटम’ दिँदै उक्त समयभित्र ठोस पहल नभए बाध्य भएर सशक्त आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिएको छ।
Facebook Comment