शिक्षा मन्त्रीलाई शिक्षा अधिकृतको खुल्ला पत्र : सरोकारवालामा परेको अन्यौलता स्पष्ट पारिदिनुस

शिक्षा मन्त्रीलाई शिक्षा अधिकृतको खुल्ला पत्र : सरोकारवालामा परेको अन्यौलता स्पष्ट पारिदिनुस
राजन पाण्डे

माननीय शिक्षामन्त्रीज्यू सादर नमस्कार,

नेपालका विद्यालयहरूमा हाल लागू गरिएको शनिबार–आइतबार बिदा व्यवस्था, शैक्षिक सत्रको सुरुवातमा ढिलाइ, तथा पाठ्यक्रमले लक्षित गरेको क्रेडिट आवर (Credit Hour) पूरा गर्ने सम्बन्धमा देखिएको व्यावहारिक अन्योलताले हामी स्थानीय तहमा कार्यरत शिक्षाकर्मीहरूलाई सोधिने जिज्ञासा तथा प्रश्नको सपाट उत्तर दिन सकेका छैनौँ।

हालको व्यवस्थाअनुसार दुई दिन बिदा हुँदा विद्यालय सञ्चालनका कार्यदिनहरू घटेका छन्। यसले पाठ्यक्रम कार्यान्वयन, सिकाइ उपलब्धि, तथा मूल्याङ्कन प्रणालीमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। अझ विद्यालय सञ्चालन र विद्यार्थी भर्ना प्रक्रिया अघिल्लो अभ्यासभन्दा ढिलो हुँदा समग्र शैक्षिक क्यालेन्डरमा अन्योलता थपिएको अनुभूति सरोकारवालाहरूले गरिरहेका छन्।

यस सन्दर्भमा, सम्बन्धित निकायबाट यस व्यवस्थाको उद्देश्य, अपेक्षित उपलब्धि, तथा हिजोको अभ्यासको तुलनामा यसका स्पष्ट फाइदाहरू के–कस्ता हुन् भन्नेबारे पर्याप्त जानकारी सार्वजनिक नहुनुले अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन सबैमा जिज्ञासा र द्विविधा सिर्जना भएको छ।

शासन सञ्चालनको मूल आधार पारदर्शिता र जवाफदेहिता भएकाले, यस्ता नीतिगत निर्णयहरूबारे स्पष्ट सूचना र तर्कसंगत व्याख्या उपलब्ध गराउनु सरकारको कर्तव्य र यसको बारेमा जानकारी पाउनु नागरिकको अधिकार दुवै हो भन्ने विश्वास लिएको छु।

अतः शनिबार–आइतबार बिदा व्यवस्थाको दीर्घकालीन प्रभाव, शैक्षिक क्रेडिट आवर पूरा गर्ने वैकल्पिक योजना, शैक्षिक सत्र ढिलाइका कारण र समाधान तथा समग्र शिक्षा प्रणालीमा अपेक्षित सुधारका आधारहरू बारे शीघ्र स्पष्टता दिनुका साथै सरोकारवालाहरूबीच खुला बहस तथा संवादको वातावरण सिर्जना गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। यसले शिक्षा क्षेत्रमा देखिएको अन्योलता हटाई नीतिप्रति विश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने अपेक्षा गरेको छु। अन्त्यमा, शिक्षा मन्त्रीज्यू हालको उत्पादन प्रणालीसँग नजोडिएको शिक्षा सुधारको लागि तपाईंबाट युगले सम्झने ऐतिहासिक कार्य सुरुवातको अपेक्षा समेत राखेको छु। धन्यवाद।

भवदीय,

राजन पाण्डे

शिक्षा अधिकृत, कावासोती नगरपालिका

नवलपरासी बर्दघाट सुस्तापूर्व

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology