कावासोती । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट २९० निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ ।
जिल्लामा आवश्यकताभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेपछि यहाँका वैकल्पिक सूचीमा परेकामध्ये २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले माग गरेअनुसार आवेदन नपरेकाले वैकल्पिक निर्वाचन प्रहरी पठाइदिन माग गरेपछि उनीहरूलाई स्याङ्जा पठाइएको खड्काले हो ।
जिल्लामा परेको २ हजार ५०० बढी आवेदनमध्ये यहाँका लागि १ हजार ७४२ जना निर्वाचन प्रहरी छनोट गरिएको खड्काले बताए ।
‘हामीले आइतबारदेखि तालिम दिन सुरु गरेका छौं, आजसम्म लगातार ३ दिन अनुपस्थित भएकालाई सूचीबाट हटाएर वैकल्पिकलाई तालिम दिन्छौँ’ खड्काले भने, ‘वैकल्पिकमा परेकामध्ये १०० जनाभन्दा बढीलाई हामीले जिल्लामा नै राखेका छौं।’
जिल्लामा गत पुस २५ देखि माघ ३ गतेसम्म आवेदन माग गरिएकामा आवश्यक सङ्ख्याभन्दा थोरैको आवेदन परेपछि पुनः माघ १० र ११ गते पनि निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएको थियो । दोस्रोपटक म्याद थपिएपछि जिल्लामा आवश्यकताभन्दा बढी आवेदन परेको खड्काको भनाइ छ ।
‘जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिएर उत्तीर्ण भएका १ हजार ५४३ जना र सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा आवेदन दिएर उत्तीर्ण भएका १९९ जना गरी १ हजार ७४२ जनालाई तालिम दिन सुरु गरिसकेका छौं’, प्रहरी उपरीक्षक खड्काले भने ।
छनोटमा परेकालाई १० दिनको तालिमपश्चात निर्वाचन प्रहरीका रूपमा निर्वाचन सुरक्षाका लागि खटाइने खड्काले बताए । निर्वाचनमा जिल्लाको ११४ मतदानस्थलका ३११ मतदान केन्द्रबाट मतदान हुँदैछ । जिल्लामा जम्मा २ लाख ६८ हजार ५२६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका ११ मतदानस्थल अतिसंवेदनशील
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लाका मतदानस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । अनुगमनका क्रममा भौगोलिक विकटता, विगतको अवस्थालगायत विभिन्न विषयलाई अध्ययन गरी निर्वाचनस्थलको वर्गीकरण गरिएको हो ।
जिल्लामा ११ वटा अतिसंवेदनशील, ५० संवेदनशील तथा ५३ सामान्य मतदानस्थल रहेका भुसालले जानकारी दिए । प्रतिनिधिसभा सदस्यको दुईवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा ३८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
Facebook Comment