कावासोती । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् ।
फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ ।
पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । जनकपुर भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ ।
यसपटक पनि लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगिसकेको छ । दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ ।
अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढाव बेहोर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । पछिल्ला खेलहरुमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ र त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा पनि हेरिएको छ । सुदूर दीपेन्द्रको कप्तानीमा छ भने लुम्बिनी रोहितको कप्तानीमा छ । दुवै आफ्नो टोलीलाई उपाधि जिताउने लक्ष्यमा छन् ।
हेड टू हेड
एनपीएलका दुवै संस्करणमा गरेर सुदूरपश्चिम र लुम्बिनी २ पटक आमनेसामने भएका छन् । दुवै खेलमा सुदूरपश्चिमले बाजी मारेको छ ।
गत संस्करण भएको खेलमा सुदूरले लुम्बिनीमाथि ४२ रनको जित हासिल गरेको थियो । सुदूरले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा १४५ रन मात्र बनाएको थियो ।
यस्तै यस संस्करणको खेलमा सुदूरपश्चिमले ७ विकेटको सहज जित हासिल गर्यो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेटको क्षतिमा १९औं ओभरको दोस्रो बलमा पूरा गरेको थियो ।
खेल : सुदूरपश्चिम रोयल्स भर्सेस् लुम्बिनी लायन्स (फाइनल)
समय : दिउँसो ३:३० बजे
मौसम : सफा, बेलुका डिउको सम्भावना
सम्भावित ११
सुदूरपश्चिम रोयल्स : विनोद भण्डारी, मुख्तार अहमद/पुनीत मेहरा, शेल्डन ज्याक्सन, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हर्मीत सिंह, स्कट कुग्लेइन, अविनाश बोहरा, हेमन्त धामी, मिलन बोहरा
लुम्बिनी लायन्स : डार्शी शर्ट, दिनेश अधिकारी, रोहित पौडेल, दिलिप नाथ, निरोशन डिक्वेला, जेजे स्मिथ, सन्दीप जोरा, शेर मल्ल, रुबेन ट्रम्पलमन, अभिशेष गौतम, तिलकराज भण्डारी
Facebook Comment