कावासोती । माघ ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचन फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस नवलपुरले केन्द्रले निर्धारण गरेको मापदण्ड मिचेर उम्मेदवारहरु सिफारिस गरेको छ ।
कांग्रेस केन्द्रिय कार्य समितिले मातहतका समितिलाई गरेको परिपत्रमा ‘प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न’ स्पष्ट निर्देशन गरेको भए पनि नेपाली कांग्रेस नवलपुरको जिल्ला कार्यसमितिको बैठकले मापदण्ड र परिपत्रलाई लत्याउदै उम्मेदवारको सिफारिस गरेको हो ।
कांग्रेस नवलपुरको बैठकले प्रतिनिधि सभा क्षेत्र नं १ र २ का लागि प्रत्यक्ष तर्फ १७ जना र समानुपातिक तर्फ १४ जनालाई उम्मेदवारको नाम सिफारिस गरेको हो ।
क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ केन्द्रिय परिपत्र अनुसार एक महिला सहित तीन जनाको नाम सिफारिस गर्नु पर्नेमा कांग्रेस नवलपुरको शुक्रबार सम्पन्न जिल्ला कार्यसमिति बैठकले १३ जना प्रत्यक्ष तर्फ र १० जना समानुपातिक तर्फका उम्मेदवारको नाम प्रदेश कार्यसमितिलाई सिफारिस गरेको हो ।
त्यसै गरि क्षेत्र नं २ मा प्रत्यक्ष तर्फ ४ जना र समानुपातिक तर्फ ४ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । प्रत्यक्ष तर्फ एक जना महिला अनिवार्य भएको भए पनि मापदण्ड अनुसार उम्मेदवारको नाम सिफारिस गरिएको छैन । क्षेत्रीय समितिहरुले मापदण्ड विपरीत नाम सिफारिस गरेका र जिल्ला समितिले पनि सोही सिफारिसमा केही हेरफेर मात्रै गरेर मापदण्डलाई लत्याएको हो ।
त्यसै गरि राष्ट्रिय सभा र प्रदेश सभामा बहाल रहेका सांसदहरुलाई उम्मेदवारको रुपमा सिफारिस नगर्न केन्द्रिय समितिले स्पष्ट रुपमा परिपत्र गरेको भए पनि गण्डकी प्रदेश सभा सदस्य रहेका कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसीको नाम समेत मापदण्ड विपरीत उम्मेदवारको रुपमा सिफारिस गरिएको हो ।
जिल्ला समितिको बैठकमा सभापति जिसीको नाम सिफारिस मापदण्ड विपरीत हुने भन्ने विषय उठे पनि क्षेत्रीय समितिले सिफारिस गरेको भन्दै जिल्लाले पनि प्रदेशलाई सिफारिस गरेको हो । प्रत्यक्षतर्फ मापदण्डभित्रै सिफारिस गर्ने अधिकतम प्रयास गरिएको भए पनि आकांक्षीको संख्या धेरै भएको भन्दै जिल्ला समितिले मापदण्ड विपरीत उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि अघिल्ला दुई परिपत्रमा तोकिएको मापदण्डविपरीत क्षेत्र र जिल्लाले धमाधम उम्मेदवार सिफारिस गर्न थालेपछि कांग्रेसले बिहीबार पुन: परिपत्र गरेको थियो । परिपत्रमा ‘तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देश भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नु हुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ,’ भनिएको छ ।
पटक पटक मापदण्ड अनुसार सिफारिस गर्न परिपत्र आएको भए पनि जिल्ला समितिले कसैलाई न चिढ्याउने भन्दै क्षेत्रको सिफारिसमा सामान्य हेरफेर गर्दै सिफारिस पठाईएको कांग्रेस नवलपुरले जनाएको छ ।
राष्ट्रिय सभा तर्फ ६ जना सिफारिस
यसै बिच कांग्रेस नवलपुरको जिल्ला समितिले माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं १ बाट कृष्ण चन्द्र नेपाली, भानु सिग्देल र द्रोणवन सन्यासी तथा क्षेत्र नं २ बाट सुमित्रा देवि खनाल, डा ज्ञानेन्द्र पौडेल र दुर्गाबहादुर राना मगरको नाम सिफारिस गरेको हो ।
हेर्नुहोस जिल्ला समितिले सिफारिस गरेका नामहरु



Facebook Comment