काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा बिहीबार दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् ।
पौने १२ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनीले अपराजित सुदूरपश्चिमको सामना गर्न लागेको हो । लुम्बिनीले ३ खेल खेल्दा १ जित र २ हारको नतिजा निकालेको छ । सुदूरपश्चिमले ३ खेल खेल्दा ३ वटै जितेको छ ।
यस खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान र उपकप्तानबीचको भिडन्त पनि रहनेछ ।
लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराउँदा त्यसपछि कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको छ ।
सुदूरपश्चिमले काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स र कर्णाली याक्ससँगको खेल जितेर आएको छ । हालसम्म अपराजित रहने सुदूरपश्चिम एक्लो टोली हो ।
दुई टोलीबीच गत संस्करण भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।
यस्तै आजै हुने अर्को खेलमा दुई जितविहीन टोली भिड्दै छन् । जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दुवैले हालसम्म खेलेका २ वटै खेल हारेका छन् ।
जनकपुर काठमान्डु गोर्खाज र विराटनगर किङ्ससँग पराजित भएको थियो भने पोखरा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
गत संस्करणमा भएको खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको जित हासिल गरेको थियो ।
अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।
जनकपुर र पोखरा २ खेलमा अंकविहीन रहँदै क्रमश: सातौं र आठौं स्थानमा छन् ।
प्रकाशित : २०८२ मंसिर ११ गते ११:२१
Facebook Comment