आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपाल आज सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।
लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई ८ अंक जोडेर पुछारमा छ ।
यस खेलका लागि नेपालले प्लेइङ ११ मा केही परिवर्तन गर्ने सम्भावना पनि छ । नेपालका लागि ओडिआईमा भरपर्दो मानिने आरिफ शेखको ब्याटबाट यो शृंखलामा रन बनिरहेको छैन । उनको स्थानमा टोलीमा अनिल साहले मौका पाउन सक्छन् । त्यस्तै बाँयाहाते स्पीनर ललित राजवंशीले किफायती बलिङ गरेपनि विकेट भने निकाल्न सकेका छैनन् । उनको स्थानमा शाहब आलमले मौका पाउने सम्भावना छ ।
प्रकाशित : २०८२ कार्तिक १९ गते ८:३७
Facebook Comment