कावासोती । भारतमा भइरहेको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग खेल खेल्दैछ । भारतको शिलोङ्गमा हुने खेलमा भारतलाई उसैको भूमिमा हराउने अवसर नेपाली महिला टोलीले पाएको छ ।
खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाल, भारत र इरान सहभागि रहेको प्रतियोगितामा इरानले भारत र नेपाललाई हराएर उपाधि भने जितिसकेको छ ।
त्यसैले आजको खेल प्रतिष्ठाको लडाईँका लागि महत्वपूर्ण हुनेछ । दुई छिमेकी प्रतिद्वन्दी नेपाल र भारत अन्तिम खेल जित्दै सुखद रुपमा यो प्रतियोगिता सकाउन चाहन्छन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान सावित्रा भण्डारि साम्बाले भारत विरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।
प्रशिक्षक न्यौपानेले लामो यात्राले गर्दा पहिलो खेलमा असर परेको र दोस्रो खेलका लागि तयार भएको बताएका छन् । ‘पहिलो खेलमा लामो यात्राले गर्दा असर देखियो । अहिले हामी अभ्यस्त भइसकेका छौँ,’ न्यौपानेले भनेका छन्, ‘भारत राम्रो प्रतिद्वन्दी हो र हामी हरेक सेकेण्ड फोकस गरेर खेल्छौँ । हाम्रो लक्ष्य भारत विरुद्ध जित निकालेर समर्थकसहित सबैलाई सकारात्मक सन्देश दिन चाहन्छौँ ।’
यस्तै कप्ता सावित्राले पहिलो खेलमा इरान विरुद्ध दोस्रो हाफमा १० मिनेट मिसब्यालेन्स हुँदा गोल खान पुगेको र त्यो गल्तीलाई सुधार गर्दै भारत विरुद्ध खेल्ने बताइन् । ‘अस्तीको म्याचको गल्तीहरुलाई कम गरेर भारत विरुद्ध खेल्नेछौँ । यो साउथ एसियन फुटबलको प्रतिष्ठाको लडाईँ हो र हामी त्यसका लागि तयार छौँ र जित्नकै लागि खेल्छौँ ।’ उनले भनिन् । ‘भारत एसियन कपका लागि छनोट भएकोले उच्च मनोबल छ । घरेलु मैदान र दर्शकको साथ छ र टिम पनि राम्रो छ ।’
यसअघि नेपालले सन् २०१९ मा भारतलाई भारतकै भूमिमा पराजित गरेको थियो । फेरि एक पटक भारतलाई उसैको भूमिमा हराउने अवसर नेपाल सामु आएको छ ।
यस्तै शिलोङमा नेपालले भारतसँग तेस्रो पटक खेल्दैछ । यसअघि सन् २०१६ मा भएको साउथ एसियन गेम्सको लिग चरणमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । तर फाइनलमा नेपाल भारतसँगै ४-० ले पराजित भएको थियो ।
प्रकाशित : २०८२ कार्तिक १० गते ९:५५
Facebook Comment