नेपालको अपराजित यात्रा कायमै, अबको लक्ष्य उपाधि

NAWALPUR TIMES
प्रकाशित : २०८२ असोज ३० गते ९:११
नेपालको अपराजित यात्रा कायमै, अबको लक्ष्य उपाधि

कावासोती  । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ ।

बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।

नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

राम्रो सुरुवात गर्दै पावरप्लेमा ५३ रन जोड्दा कुनैपनि विकेट नगुमाएको नेपालले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाएको थियो ।

ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २-२ विकेट लिए ।

नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । आजको जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

नेपालले आइतबार युएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हराएको थियो ।

नेपालले अब शुक्रबार सामोआसँग खेल्नेछ ।

प्रकाशित : २०८२ असोज ३० गते ९:११
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI