कावासोती । नवलपुरमा रहेको राजगुठीको लगतमा दर्ता भएको श्री शिरथान कुमारवर्ती माई(देवी) गुठी व्यवस्थापन समितिको अध्यक्ष पदमा कावासोतीका चेत नारायण चौधरी नियुक्त भएका छ्न ।
व्यवस्थापन समितिको २०८१ फागुन १७ गते सम्पन्न दोस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट सर्वसहमत नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी एवं सदस्यहरूको नियमानुसार पदस्थापनाका लागि गुठी संस्थान केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाइएको थियो । गुठी संस्थान सञ्चालक समितिको २०८२ वैशाख २० गतेको निर्णय बमोजिम गुठी देवस्थल व्यवस्थापन समिति गठन गर्न प्रशासकलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भए बमोजिम मिति २०८२ भदौ १९ गते भएको निर्णय बमोजिम समितिको नयाँ नेतृत्वमा चेत नारायण चौधरी अध्यक्षमा मनोनित भएका हुन ।
गुठी व्यवस्थापन समितिका पदाधिकारीहरूमा अध्यक्ष चौधरीसँगैं सचिव पदमा कावासोती-११ को शिव कुमार महतो र कोषाध्यक्ष पदमा देवचुली-१६ कि टिका कुमारी महतो तथा समितिका सदस्य पदमा पतिराम थनेत, अर्जुन चौधरी, राज कुमार महतो र महन्तमा पुजारी गुन बहादुर गुरौं मनोनित भएका छन् ।
गुठी समितिमा मालपोत कार्यालय कावासोती र स्थानीय तहका प्रतिनिधि पदेन सदस्यका रुपमा समेत रहने व्यवस्था रहेको छ । गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरले २०८२ असोज ५ गते नै मालपोत कार्यालय कावासोती, स्थानीय तह तथा अन्य सरोकारवाला निकायहरूमा पत्रचार गरी नयाँ व्यवस्थापन समिति गठन सम्बन्धमा बोधार्थ पत्र पत्राचार गरी जानकारी गराएको छ ।
देवस्थलको व्यवस्थापन, मन्दिरको नित्य नैमित्य पूजा आजा देवीथानको दरबन्दीका आधारमा सुचारु गर्न, देवीथानमा भक्तजनहरूले चढाएका वा अर्पण गरेका गरगहना, भाँडाकुँडा, आय, दान, दातब्यको लगत विवरण राख्न, गुठी सम्पदा र गुठी सम्पत्तिको संरक्षण, सम्वर्द्धन परिचालन तथा अभिलेखिकरण तथा देवस्थलको विकासका लागि स्थानीय जनसहभागिता जुटाई विकास निर्माण गर्ने गराउने मुख्य दायित्व जिम्मेवारी अब यस समितिलाई रहने छ ।
मानव सभ्यताको विकाससंगैं मानव समाजको अभित्र अंगको रुपमा विकासित हुँदै आएका हाम्रा सामाजिक, धार्मिक तथा साँस्कृति रीतिरिवाज, परम्परा तथा सभ्यताको लामो श्रृंखलाहरूको क्रमिकरुपले स्थापन भएको पाइन्छ । पूर्वजहरूले मानव सभ्यता र संस्कारको संरक्षण एवं सम्वर्द्धन गर्नका लागि विभित्र मठ–मन्दिर, धर्मशाला, पाटी–पौवा, चौतरी, बाटो–घाट, हिटी, धारा, कुवा निर्माण गरी देवी देवताको परपूर्व काल देखि चलिआएको परम्परा रीतिरिवाज अनुसार पर्व पूजा, जात्रा चलाउन वा मठ मन्दिर, देवस्थल आदि जस्ता धार्मिकस्थल वा अन्य सामाजिक परोपकारी र साँस्कृति कार्यहरू गर्दै आएका र त्यस्ता धार्मिक कार्य सिद्धिका लागि आवश्यक आर्थिक जोेहो गर्न श्रद्धालु भक्तजन तथा दाताहरूले आफ्नो जीवनभरको कमाईबाट चल अचल सम्पत्ति उदात्त भावनाले हक छाडी राखी दिएका सम्पत्तिलाई नै गुठी भनिन्छ ।
नेपालमा गुठी संस्थानको स्थापन हुन पूर्व सरकारले बन्दोबस्त र सञ्चालन गरी आएकोमा गुठी संस्थान ऐन, २०२१ को दफा २(घ) बमोजिम त्यस्ता गुठीमा नेपाल सरकारबाट संस्थानमा हक र दायित्व सर्न आई संस्थानले बन्दोबस्त र सञ्चालन गरेको गुठी नै राजगुठी हुन् ।
नवलपुर जिल्लाको महाभारत पर्वत शृङ्खलामा अन्तर्गत समुन्द्री सतह देखि करीब १९३४ मिटरको अग्लो उचाइमा अवस्थित देवचुली डाँडामा रहेको गुफाभित्र रहेको छ । जहाँ प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाको दिन तीन कन्या माईको पूजा हुने गर्दछ । उक्त दिन यस क्षेत्रमा आदिमकाल देखि बसोबास गर्दै आईरहेका आदिवासी जनजाती मगर, गुरुङ्ग तथा भूमि पुत्र थारु समुदायमा कुमारवर्ती माई देवीको पूजाआजा गर्नाले आफ्नो कुलमा पितृ प्रसन्न भई कुलमा सुख, समृद्धि हुने र यहाँका तीनकन्यासंग मागेका मनोकांक्षा प्राप्ती हुने जनविश्वास रहिआएको छ ।
द्वापरयुगमा पाँच पाण्डव द्रौपती सहित केही समय यहीँ गुफामा बसेको स्थानीय किंवदन्ती समेत रहेको छ । यस शिरथान कुमारवर्ती माई देवीको थान जिल्लाभरी पूर्वी गैंडाकोट देखि पश्चिम त्रिवेणी सम्म फैलिएर रहेका छन् । गैडाकोट नगरपालिकाको भेडावारी, मालपुर र सिख्रौली, देवचुली नगरपालिकमा रजहर, कावासोती नगरपालिकामा कुडौली, कुश्नहरी, बुडौली, साँढ र डण्डा तथा मध्यबिन्दु नगरपालिकाको मदनपुर र कोलकट्टामा देवीका प्रचिन देवस्थल, देवीथान तथा मठ–मन्दिरहरू रहेका छन् । गुठी तथा देवीथानको सञ्चालनका लागि खर्चको स्रोत जुटाउन, आयस्ता आउने गरी कोही कसैको हक नलाग्ने श्री शिरथान कुमारवर्ती देवी(माई)को नाममा दर्ता श्रेस्ता कायम भएका जग्गा जिल्लाभरी देवस्थल वा देवीथान भएको स्थानहरूमा रहेका छन् ।
प्रकाशित : २०८२ असोज २८ गते ९:४७
Facebook Comment