वाल्मीकि आश्रमका सम्पदा अवलोकन गर्न अब माडी नगरपालिकालाई शुल्क तिर्नु पर्ने

NAWALPUR TIMES

वाल्मीकि आश्रमका सम्पदा अवलोकन गर्न अब माडी नगरपालिकालाई शुल्क तिर्नु पर्ने

कावासोती । भगवान राम–सीतासँग जोडिएको प्राचीन धार्मिकस्थल वाल्मीकि आश्रममा रहेका पुरातात्त्विक सम्पदा अवलोकन गर्न माडी नगरपालिकालाई शुल्क तिर्नु पर्ने भएको छ ।

माडी नगरपालिकाको सोमबार वाल्मीकि आश्रममा बसेको ५५ औं कार्यपालिका बैठकले वाल्मीकि आश्रम पुग्ने भक्तजनहरुले पुरातात्त्विक सम्पदा अवलोकन गरे बापत शुल्क तिर्नु पर्ने निर्णय गरेको हो ।

बैठकले संरक्षित क्षेत्र सरसफाइ शुल्क लिने निर्णय गरेको माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन । प्रमुख महतोका अनुसार वाल्मीकि आश्रम पुग्ने भक्तजनले मन्दिरमा पुजा गरे बाहेक त्यहाँ रहेका पुरातात्त्विक सम्पदा अवलोकन गर्दा शुल्क लिने निणय गरेको हो ।

कार्यपालिका बैठकले माडीका बासिन्दाका लागि ५, अन्य नेपालीका लागि १०, भारतीयका लागि १६ र अन्य देशका लागि ५० रुपैयाँ शुल्क लिने निर्णय गरेको हो । नगर प्रमुख महतोका अनुसार त्यहाँ संकलन गरिएको संरक्षित क्षेत्र सरसफाइ शुल्क वाल्मीकि आश्रमको सरसफाइ र संरक्षणमा खर्च गरिने छ । “हामीले सामान्य शुल्क लिने निर्णय गरेका छौं, त्यो शुल्क त्यस क्षेत्रको संरक्षण र सरसफाइमा खर्च गर्छौ”, प्रमुख महतोले भनिन । शुल्कका विषयमा गलत भ्रम फैलिएको बताउदै प्रमुख महतोले भनिन, “सामान्य शुल्क लिने निर्णय भएको हो, वाल्मीकि आश्रमको अपनत्व लिएर यस क्षेत्रको विकास निर्माणका लागि माडी नगरपालिकाले काम गर्ने छ।”

प्रमुख महतोका अनुसार कार्यपालिका बैठकले वाल्मीकि आश्रममा रहेका १४ घरधुरीको छानो छाउन जस्ताको पाता उपलब्ध गराउने, बालबालिकालाई प्रारम्भिक शिक्षा उपलब्ध गराउन एक जना प्रारम्भिक बालविकास सहजकर्ता खटाउने निर्णय पनि गरेको छ ।

1756808887548

त्रेता युगमा राम भगवानले सीता मातालाई वनबासका लागि महर्षी वाल्मीकि ऋषिको आश्रममा छाडेको, भगवान रामका छोराहरु लव र कुशको जन्म भएको र सीतामाता पातालमा भासिएको स्थल हो वाल्मीकि आश्रम । रामायण कथाअनुसार सीताका छोरा लव र कुशको यहीं पठनपाठन भयो । रामले लगाएको अश्वमेध यज्ञका बेला छाडेका घोडा पनि लव र कुशले समाएर बाँधेका थिए । आश्रममा यी घटनासँग जोडिएका पुराना वस्तु रहेका छन । आश्रम वरपर सीता पाताल प्रवेश स्थल, अमृत कुण्ड, हवन कुण्डका अवशेषहरू छन । लव र कुशले घोडा बाँधेको खम्बा, पाठशालाको अवशेष, विष्णु चक्र, सीताको फलफूल बगैंचा र वाल्मीकि ऋषि अन्तरध्यान भएका स्थल पनि यहाँ रहेका छ्न ।

भौगोलिक हिसाबले चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम चितवनको सडक सञ्जालसँग जोडिएको छैन भने आश्रम पुग्ने जो कोहीले हिउँदमा डुङ्गा र वर्षायाममा पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध  कटेर भारत विहार राज्यको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर  वाल्मीकि आश्रम  पुग्नुपर्ने हुन्छ ।
भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेका छन् । बाटोमा पर्ने वाल्मीकि टाइगर रिजर्भ वनपोस्टमा टिकट नै काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई सहजै आश्रममा पुग्न कठिन हुने गर्द्छ ।

नेपाली भूमिबाटै वाल्मीकि आश्रम जानका लागी नवलपुरको विनय-त्रिवेणी गाउँपालिका-६ देखि त्रिवेणी नदीमा झोलुंगे पुल निर्माण भएको छ। २०७० मा सम्झौता भएर २०७९ मा पुलको निर्माण सम्पन्न भएको भए पनि आवश्यक प्रक्रिया पूरा नभएको भन्दै चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनको अनुमति नदिदा वाल्मीकि आश्रन पुग्न भारतकै बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology