कावासोती । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ। यसले गर्दा आज र भोलि पनि देशका धेरैजसो स्थानमा बदली र वर्षा हुने सम्भावना छ।
आज दिउँसो देशभरको मौसम प्रायः बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा राति पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाका कारण नदीहरूको जलस्तर बढ्ने, बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।
प्रकाशित : २०८२ साउन २१ गते ९:५०
Facebook Comment