२०७३ जेठ ६ गते प्रज्ञा प्रतिष्ठानको हलमा प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह चल्दै थियो । प्रमुख अतिथि हुनुहुथ्यो , नेकपा ( एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ।
मन्तब्यका क्रममा प्रधानमन्त्री ओलीले सोध्नुभयो, धौवादी फलामखानी क्षेत्रबाट कोही आउनुभएको छ ? सहभागीको बीचबाट मैंले हात उठाएँ ।
प्रधानमन्त्री ओली खुसी हुनुभयो । देशका खानी, उद्योग र आर्थिक समृद्धिका बारेमा उहाँले चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले मेरो जिल्लाको धौवादी फलामखानीको बारेमा चर्चा गर्दा म पनि हर्षबिभोर भएको थिएँ । कति छिट्टै ९ बर्ष बितिसक्यो । तर , यसबीच प्रधानमन्त्री ओलीले धौवादी फलाम खानीलाई निकै प्राथमिकता दिनुभयो । उहाँको पहिलो प्रधानमन्त्रीत्वकाल अर्थात् २०७३ साल देखि भौगर्भिक अध्ययन, अन्वेषणसहित नमूना संकलन , परिक्षण तथा ड्रिलिङको कार्य सम्म आइपुग्दा नवलपुरबासीमा आशा र समृद्धिको हुटहुटी छ ।
‘धाप डी’ अर्थात् धौवादी
‘धाप डी’ अर्थात् स्थानीय मगर भाषामा धापिलो पानी भएको ठाउँ । जनबोलीमा परिस्कृत हुदै धौवादी नाम बन्यो । तत्कालिन धौवादी गाउँ विकास समिति वडा नं. ४ वाकखोरमा स्थानीयहरुले काठको आगो दन्काएर ढुङ्गालाई पगालेर ‘लाहा’ को डल्लो बनाउने र त्यसैलाई पगालेर बनेको फलामबाट कोदालो, बञ्चरो, हँसिया लगाएका हतियारहरु बनाउने चलन थियो ।
फलाम निकाल्न यहाँका मानिसलाई ‘खानिङ्गे खलक’ भन्ने चलन पनि थियो । स्थानीयहरुको भनाईमा करिब एक सय बर्ष देखि यो अभ्यास हुदै आएको थियो । पछिल्लो समय खानीमा फलाम निकाल्ने क्रममा सुरुङ बनेको र सोही सुरुङमा परि मजदुरहरुले ज्यान गुमाएकाले स्थानीयहरुले फलाम निकाल्न छाडेको भनाइ छ ।
२०३२ साल सम्म पाल्पा जिल्लामा रहेको यो ठाउँ त्यसपछि नवलपरासी जिल्लामा रहँदै आयो । २०४२ साल तिर भू गर्भ बिभागले फलाम खानीको अबस्थाका बारेमा प्रारम्भिक अध्ययन गरेको थियो । २०४६ सालको शासकीय परिवर्तनसंगै नवलपरासीका तत्कालिन १७ पहाडी गाविसहरु भौगोलिक हिसाबले विकटमा परे । सशस्त्र द्धन्द्धका बेला यहाँ राज्यको उपस्थिति भएन । अध्ययन ÷अनुसन्धान पनि रोकियो । २०७० सालतिर जियोलोजिस्ट नारायण बाँस्कोटा सहितको टोली धौवादी – ३ पोखरी र धौवादी–४ वाकखोरमा केन्द्रित रही अनुसन्धानलाई तीब्रता दिएका थिए । अहिले यो क्षेत्र हुप्सेकोट गाउँपालिकाको वडा नं. ५ मा पर्छ । बिस्तृत भूगर्भीय अध्ययन ÷अनुसन्धान गर्दा धौवादी क्षेत्रमा ठुलो फलाम खनिज पदार्थ रहेको पुष्टि भयो ।
देश भुकम्पले थलाथला परेका बेला मुलुकले नयाँ संबिधान पायो । नयाँ संबिधान कार्यान्वयनको चरणमा केपी शर्मा ओली नेकपा ( एमाले)को तर्फबाट २०७२ साल असोजमा पहिलो पटक नेपालको प्रधानमन्त्री पदभार सम्हाल्दा यो परियोजनाबारे अध्ययन ÷अनुसन्धानका पाटाहरुमा धेरै प्रश्नहरु थिए । बिशेषतः यसको गुणस्तरीयता र खानी उद्योगको रुपमा सञ्चालनमा ल्याउने कानूनी पाटाहरुका सन्र्दभमा । नयाँ संबिधान त बनेको थियो तर त्यसले ब्यवस्था गरेका संरचनाहरु तयार गर्नुपर्ने थियो । यस्तो जटिल परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली अटल विश्वासका साथ राष्ट्रका गर्वका योजनाको प्राथमिकतामा हुनुहुन्थ्यो । त्यो उहाँकै अगुवाईमा जारी २०७२ को नयाँ संबिधानले उत्साह थपेको थियो । २०७३ साउनमा सरकार ढलेपछि समृद्धिका योजनाहरुमा गति कम हुन थाल्यो । २०७४ सालमा जब प्रधानमन्त्री ओलीकै नेतृत्वमा नयाँ सरकार बन्यो , तब धौवादी फलाम खानीको कामले गति प्रक्रियो ।
ओली सरकारको पहल
प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा २०७६ सालमा धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरी सरकारको संलग्नतामा देशमा फलामको उत्पादन शुरु गर्ने अभियान आरम्भ भयो । यस खानीबाट नेपालमै फलामजन्य सामाग्रीको उत्पादन गरेर देशको आयात निर्भरता घटाउने लक्ष्य राखिएको छ । खानीको उत्खनन, प्रशोधन र ब्यवसायिक उत्पादनलाई ब्यवस्थित गर्न सरकारले काम थालेको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ५ मा रहेको यो खानी क्षेत्र ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । हुप्सकोट गाउँपालिका , बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिका यस खानी संग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र हुन् । फलाम भण्डारको लम्बाई १० किलोमिटर चौडाई १५ देखि ३० मिटर र गहिराई करिब एक सय मिटर रहेको अनुसन्धानले देखाएको छ ।
अनुसन्धान अनुसार, यहाँ भेटिएको फलाम ( Iron ore ) गुणस्तरका हिसाबले मध्यम रहेको छ । यहाँ पाइने फलामको खनिजमा औसत ३५ देखि ४० प्रतिशतसम्म शुद्ध फलाम रहेको देखिन्छ । यो गुणस्तर औद्योगिक उत्पादनका लागि विश्वव्यापी मापदण्डअनुसार प्रयाप्त मानिने विज्ञहरुको धारणा रहेको छ । हेमाटाइट( Hematite ) खनिज यहाँको फलाममा पाइन्छ । यी खनिजहरु फलाम उत्पादनका लागि धेरै उपयोगी र प्रशोधन गर्न सजिलो मानिन्छन् । प्रशोधन फलाममा (पहिलो) औसत ५८ देखि ६० प्रतिशत रहेको छ ।
धौवादी फलाम खानीको शुद्धता भारत, ब्राजिल, अष्टे«लिया देशमा पाईने औसत फलाम खनिज संग प्रतिस्पर्धा गर्न सक्ने स्तरको छ । फलाममा गुणस्तर भएकाले नेपालमै इस्पात (कतभभ)ि उत्पादन गर्न सकिने सम्भावना छ । नेपालले हाल आयात गरिरहेको फलामजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने लक्ष्यका लागि यो गुणस्तर पर्याप्त छ । नेपालजस्तो निर्माण र औद्यागिक क्षेत्रहरु तीब्र रुपमा अगाडि बढिरहेको देशहरुका लागि यो गुणस्तर फलदायी हुन्छ ।
फलाम खानीबाट निकाल्ने फलामको परिणाम गुणस्तरको नमूना परिक्षणको लागि चीनको सिचुआन इन्स्च्यिूट अफ मेटोलोजिकल एन्ड एक्सप्लोरेशन छेन्दु पठाइएको थियो । अन्तर्राष्ट्रिय प्रयोगशालाहरुमा प्राबिधिक परिक्षण गर्दा धौवादी फलाम खानी फलाम उत्पादनमा अब्बल प्रमाणित भएको छ । नेपालले आयात गर्ने फलाम तथा फलामजन्य सामाग्रीको २५ देखि ३० प्रतिशत भन्दा बढीको माग यो खानी सञ्चालनमा आएपछि पुरा हुने विश्वास लिइएकोछ । यो देशका लागि आशा र उत्साहको बिषय पनि हो । फलामको धाउ उत्पादन गर्दा सह उत्पादनका रुपमा क्वार्जाइट ( कडा चट्टान ) पनि निस्कनेछ । यो निर्माण परियोजनालाई आबश्यक कच्चा पदार्थ स्थानीय रुपमै उपलब्ध गराउने हुँदा परियोजना लागत समेत कम हुन्छ । अब उत्पादनको वातावरण कुरेको धौवादी फलाम खानीले फेरी प्रधानमन्त्री केपी शर्मा ओली पाएको अबस्थामा जुर्मुराएर लाग्नुपर्नेछ ।
नेपालले प्रत्येक बर्ष (इस्पात, रड ) आदि फलाम र फलामजन्य उत्पादनहरु भारत , चीन र अन्य देशबाट आयात गर्छ । यो आयातमा ठुलो मात्रामा पैसा बाहिरिने मुख्य कारक हो । यसैका कारण ब्यापार घाटा बढीरहेको पनि छ । तर , धौवादी खानीले दैनिक १५०० टन फलाम उत्पादन गर्ने लक्ष्य राखेको छ । यसले ब्यापार घाटा कम गर्ने मात्रै होइन झण्डै दुई हजारको हाराहारीमा रोजगारी सृजना गर्छ । नेपालले प्रत्येक बर्ष ३० लाख मेट्रिकटन फलाम र फलामजन्य उत्पादनहरु आयात गर्छ । यसमा धौवादी फलाम खानीले झण्डै ५० अर्ब रुपैया बराबरको आयात रोक्छ । यो खानी सञ्चालनमा आउदा एक सय २५ मेगावाट बिजुली आबश्यक पर्छ । पहुँच मार्गको रुपमा सडक निर्माणको काम थालेको छ । यस आ.व २०८१/०८२ मा २९ करोड ५० लाख विनियोजित गरेर काम थालिएको हो । धौवादी फलाम खानीबाट उत्पादित फलामले नेपालको निर्माण क्षेत्रलाई सस्तो, गुणस्तरीय, र सजिलै उपलब्ध कच्चा पदार्थ उपलब्ध गराउने क्षमता राख्छ । आयात प्रतिस्थापनाले राष्ट्रिय औद्यौगिक आत्मनिर्भरता बढाउने र विदेशी मुद्रा बचत गर्ने छ । यदि फलाम प्रशोधन गरेर देशभित्रै स्टिल उत्पादन गर्न सके आयात प्रतिस्थापनाको दायरा झनै बढ्छ ।
स्थानीय उत्साह र चासो
खानीक्षेत्रमा पुग्ने सडक, बिद्युत निर्माणका कार्यका लागि सरकारले जसरी काम थालेकोछ , त्यसले स्थानीयमा उत्साह थपेको छ । वातारणीय अध्ययन, खानीको उत्खनन अनुमति, विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर) मा स्थानीयको चासो छ । संस्थागत ढाँचा बलियो बनाउन उच्च योग्य तथा अनुभवी ब्यवस्थापक, इन्जिनियरहरुको नियुक्ति, नीजि क्षेत्रसंगको सहकार्य (Publice-private partnership) गर्ने , सामाजिक र स्थानीय साझेदारी, भण्डारण, उत्पादन र बजार सम्मको आपुर्ती प्रणालीलाई मजबुत बनाउने कार्य पनि प्रधानमन्त्री ओलीकै कार्यकालमा हुँदा यो खानीले अपेक्षित उपलब्धि हासिल गर्न सक्ने स्थानीयको विश्वासछ ।
स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा दीर्घकालीन योजना बनाउने प्रभावित क्षेत्रका स्थानीय तहहरु संग सहकार्य गर्न धौवादी फलाम खानी लिमिटेडले नेतृत्व गर्नुपर्छ । प्रधानमन्त्री ओलीको दृढ सङ्कपले विकास र समृद्धि हासिल गर्न सम्भव छ भन्ने आधार धौवादी फलाम खानी हो । यो खानी राष्ट्रको गौरब मात्र नभइ योजना मुलुकको आर्थिक –सामाजिक रुपान्तरणमा माइलस्टोन बन्नेछ ।
(केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प पुस्तकबाट )
प्रकाशित : २०८२ असार ७ गते २१:५२
Facebook Comment