त्रिकोणात्मक टी- २० सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार २ गते १२:१३
त्रिकोणात्मक टी- २० सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै

कावासोती । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी- २० सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध ३-१ को नतिजा निकालेको नेपाली टीमबाट टी- २० सिरिजमा पनि लय कायम राख्ने आशा समर्थकहरुले राखेका छन् ।

लिग २ श्रृंखला आईसीसीको प्रत्यक्ष रोहवरमा भएको थियो भने टी- २० श्रृंखला स्कटल्यान्डले आयोजना गरेको हो । हिजो सुरु भएको टी- २० श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स भिडेका थिए । स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएर उत्कृष्ट सुरुवात गरेको छ । लिग २ मा खराब नतिजा व्यहोरेको नेदरल्यान्ड्सले टी- २० श्रृंखलामा पनि चाहे जस्तो सुरुवात गर्न सकेन ।

यो सिरिजलाई नेपालको टी- २० विश्वकप छनोट तयारीका रुपमा हेरिएको छ । अक्टोबर ८ देखि १७ सम्म ओमानमा एसिया-इस्ट एसिया प्यासिफिक क्षेत्रको विश्वकप छनोट हुन लागेको छ, जसमा नेपाल, ओमान, यूएई, जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार र समाओले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको शीर्ष ३ स्थानमा रहने टोली भारत र श्रीलंकामा अर्को वर्ष हुने टी- २० विश्वकपमा छनोट हुनेछन् ।

नेपालले यसै प्रतियोगितामार्फत लगातार दोस्रो पटक टी- २० विश्वकप खेल्ने धोको बोकेको छ । त्यसैले तयारीका लागि कुनै पनि कसर छोड्न चाहँदैन ।

यस टी- २० श्रृंखलामा नेपालका प्रमुख दुई अलराउन्डर सोमपाल कामी र गुल्शन झा उपलब्ध छैनन् । उनीहरु लिग २ को अन्तिम खेलअघि घाइते भएपश्चात अहिले नेपाल फर्किसकेका छन् । उनीहरुको स्थान पूर्ति गर्न नेपाल क्रिकेट संघ (क्यान)ले तीन खेलाडी किरण ठगुन्ना, लोकश बम र रुपेश सिंहलाई स्कटल्यान्ड पठाइसकेको छ । उनीहरु आजको खेलका लागि उपलब्ध हुनेछन्, तर तीनै जनाले एकै पटक प्लेइङ ११ मा स्थान पाउन सक्ने अवस्था छैन । कम्तीमा एक जनाले आजको खेलमा मौका पाउने अपेक्षा गरिएको छ ।

नेपालको टप अर्डरमा धेरै फेरबदलको सम्भावना छैन । नेपालले यसअघि खेलेको टी- २० अन्तर्राष्ट्रिय श्रृंखलामा ओपनर जोडीका रुपमा कुशल भुर्तेल र आसिफ शेख थिए । अहिले पनि यही जोडीलाई प्रशिक्षकले ओपनिङमा उतार्न सक्ने सम्भावना छ । यद्यपि, आसिफ शेख त्यति राम्रो फर्ममा नभएकाले अनिल साह वा लोकेश बमलाई कुशलको जोडी बनाउने विषयमा पनि उनले सोच्न सक्छन् ।

नेपालले तेस्रो नम्बरमा कसलाई उतार्छ भन्ने निधो छैन । यसअघि धेरैजसो कुशल मल्ल तेस्रो नम्बरमा आउने गरेकोमा उनी यो भ्रमणमा समेटिएका छैनन् । त्यसैले कप्तान रोहित पौडेल आफै तेस्रो नम्बरमा आउन सक्ने सम्भावना छ । यदि परिस्थितिले डिमान्ड ग¥यो भने प्रशिक्षकले अर्को निर्णय लिन पनि सक्छन् ।

मध्यक्रममा नेपालले किरण ठगुन्नालाई डेव्यु गराउन सक्ने सम्भावना रहेको बताइन्छ । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ठगुन्नाले अघिल्लो महिना बैकल्पिक खेलाडीका रुपमा हङकङ पुगे पनि डेव्यु गर्न पाएका थिएनन् । अहिले गुल्शन र सोमपालको अनुपस्थितिले पैदा गरेको रिक्तता पूर्ति गर्ने क्रममा उनले स्थान पाउन सक्छन् ।

नेपालसँग आरिफ शेखलाई मध्यक्रममा एडजस्ट गर्ने अर्को विकल्प पनि छ । यसअघि टी- २० मा खासै नचलेका आरिफले लिग २ मा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसैले उनको फर्मलाई हेरेर टी- २० अन्तर्राष्ट्रियमा कमब्याक गराइन सक्छ । गुल्शनको अनुपस्थितिमा नेपाललाई एक जना पार्टटाइम पेस बलरको अभाव हुने भएकाले पनि आरिफको सम्भावना बढेको हो ।

यस्तै मध्यक्रममा युवा ब्याट्सम्यान बसिर अहमद तथा अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि नेपालसँग रहनेछन् । फास्ट बलिङमा सोमपालको अनुपस्थितिमा नन्दन यादवले करण केसीलाई साथ दिनेछन् । स्पिनको मोर्चा सदा झैं सन्दीप लामिछाने र ललितनारायण राजवंशीले सम्हाल्नेछन् ।

प्रकाशित : २०८२ असार २ गते १२:१३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI