कावासोती । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गरे पनि नेपालले विश्वकप क्रिकेट लिग–२ मा आइतबार स्कटल्यान्डमाथि सनसनीपूर्ण जित हात पार्नबाट रोकिएको छ । यी दुईले ६५ बलमा १ सय ५ रनको साझेदारी गरेपछि विजयको नजिक पुगेको नेपाललाई डन्डीको फोर्टहिलमा स्कटल्यान्डले २ रनले पराजित गर्यो ।
३ सय २४ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा ७ रनको आवश्यक्ता थियो । तर लोकल व्वाई साफ्यान सरिफले करण केसी र ललित राजवंशी दुवैलाई आउट गरेपछि नेपाल पूरा ५० ओभर खेली ३ सय २१ रनमा समेटियो ।
नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो रनको लक्ष्य पछ्याउने क्रममा विजयको नजिक पुगेर रोकिएको हो । सोमबार मात्र नेपालले स्कटल्यान्डमाथि नै २ सय ९७ रनको लक्ष्य पछ्याउँदै १ विकेटको जित हात पारेको थियो, जुन यसअघिको सबैभन्दा ठूलो लक्ष्य पछ्याएर विजयी भएको कीर्तिमान थियो ।
दीपेन्द्र र सोमपाल दुवैले अर्धशतक पूरा गरे । दीपेन्द्रले ५१ बल खेली २ चौकासहित ५६ र सोमपालले ४४ बल खेली ३ चौका र ४ छक्का प्रहार गर्दै ६७ रन बनाए । सोमपालको एकदिवसीय अन्तर्राष्ट्रियमा यो उच्च स्कोर पनि हो । करण १० बलमा १७ रन बनाई आउट भए । उनले १ चौका र १ छक्का प्रहार गरे ।
ओपनर कुशल भूर्तेल २० बलमा १७ रन बनाई आसिफ शेखसँग तालमेल मिलाउन नसक्दा रनआउट भए । आसिफ पनि ८ रन बनाई इनसाइड एज लागेर बोल्ड भए । कप्तान रोहित पौडेल ३ रनमात्र बनाई पहिलो स्लिपमा क्याच दिन पुगे ।
नेपालबाट भीम सार्कीले सर्वाधिक ७३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको चौथो अर्धशतक हो । उनले ८५ बल खेली ८ चौका प्रहार गरे । भीम र आरिफले चौथो विकेटमा १ सय १० बलमा ९४ रनको साझेदारी गरे । आरिफ ५५ बल खेली ५ चौका प्रहार गरी ३९ रनमा आउट भए । गुलशन झा एक छक्का प्रहार गरी १३ बलमा ११ रन बनाई आउट भए ।
यसअघि कप्तान रिची बेरिङटनले १ सय २ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभर खेली ६ विकेट गुमाई ३ सय २३ रन बनाएको थियो । बेरिङटनले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो छैटौं शतक बनाएपछि स्कटल्यान्डले नेपाललाई बलियो चुनौती तेर्स्याउन सफल भएको थियो ।
आफूले सामना गरेको पहिलो बलमै एलबीडब्लु आउट हुनबाट जोगिएका बेरिङटनले १ सय १४ बलको इनिङ्समा ६ चौका र ४ छक्का प्रहार गरे । माइकल लिस्कसँग तेस्रो रन लिने प्रयासमा उनी रनआउट भएका थिए ।
करण केसीले ६ ओभरभित्र ओपनर जर्ज मुन्सीलाई शून्य र ब्रान्डन म्याकमुलेनलाई ५ रनमा आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । त्यसपछि बेरिङटन र चार्ली टिएरले तेस्रो विकेटमा १ सय २७ बलमा ९४ रनको महत्त्वपूर्ण साझेदारी गरे । ओपनर टिएरले नेपालविरुद्ध लगातार दोस्रो अर्धशतक बनाए ।
यसै शृंखलामा नेपालविरुद्धको पहिलो खेलमा पनि ८० रन बनाएका टिएरले ६५ बल खेल्दै ६८ रन जोडे । उनले कुल ९ चौका प्रहार गरे । ललित राजवंशीले टिएरलाई बोल्ड गरी यो साझेदारी तोडेका थिए । पछिल्ला दुई खेलमा अर्धशतक बनाएका फिन्ले म्याकक्रिथ १७ रन बनाई दीपन्द्रसिंह ऐरीको बलमा उत्कृष्ट कट एन्ड बोल्ड भए । दीपेन्द्रले लगत्तै म्याथ्यु क्रसलाई १७ रनमा आउट गरी खेलमा नेपालको पकड बलियो बनाएका थिए ।
तर त्यसपछि बेरिङ्टनले लिस्कसँग छैटौं विकेटमा ९३ बलमा १ सय २५ रनको ठोस साझेदारी गरे । सन्दीप लामिछानेको बलमा सोमपाल कामीले लिस्कको १४ रनमा छाडेको क्याच नेपाललाई निकै महङ्गो पर्यो । लिस्क ६२ बलमा ९६ रन बनाई अविजित रहे । उनले १२ चौका र ३ चौका प्रहार गरे ।
अन्तिम ओभरमा करणलाई लगातार तीन छक्का प्रहार गरेका मार्क वाट ९ बलमा २१ रन बनाई अविजित रहे । स्कटल्यान्डले अन्तिम ५ ओभरमा ६७ र अन्तिम १० ओभरमा १ विकेट गुमाई १ सय २३ रन जोडेको थियो । ओपनिङ ५ ओभरको स्पेलमा २ मेडन राख्दै १९ रन खर्चेका करणले कुल ९ ओभरमा ७४ रन खर्चेर २ विकेट लिए । सोमपालले ९ ओभरमा ७५ र सन्दीपले १० ओभरमा ६९ रन खर्चन पुगे । दीपेन्द्रले ७ ओभरमा ३७ रन खर्चेर २ र ललितले १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।
पहिलो २ खेल जितेको नेपालले मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेलेर यस लिग-२ को यात्रा टुंग्याउने छ । स्कटल्यान्डले ३ खेलमा दोस्रो जित हात पारेको हो ।
प्रकाशित : २०८२ जेठ २७ गते ८:०१
Facebook Comment