कावासोती । स्कटल्यान्डविरुद्ध नेपाली क्रिकेट टोली उच्च मनोबलसाथ मैदानमा उत्रने छ । नेपालले विश्वकप क्रिकेट लिग–२ मा आइतबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ । डन्डीमा पहिलो दुई खेलमा उच्च नतिजा निकालेका कारण नेपाल फेरि अर्को त्यस्तै नतिजा ल्याउनेमा विश्वस्त छ ।
फोर्टहिलमा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो । नेपालले सोमबार यस शृंखलाको आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय जित हात पारेको थियो । करण केसीले अविजित अविजित ६५ रन बनाएपछि नेपालले २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य पार गरेको थियो ।
नेपालको जोसिलो प्रदर्शन यतिमै सीमित रहेन । नेपालले बुधबार आरिफ शेखको ७८ रनमा नेदरल्यान्ड्समाथि ५ विकेटका जित निकाल्यो । नेपाली टोली लिग २ का दुई शीर्षस्थ टोलीलाई स्तब्ध पार्दै लगातार दोस्रो जित निकाल्न सफल भयो । ‘डबल हेडर’ मा स्कटल्यान्डविरुद्ध नेपालले पुनः खेल्न लागेको हो । नेपालका प्रशिक्षक स्टुवार्ट लले आफ्नो टोलीको लक्ष्य उच्च रहेको र नतिजा पनि उच्च ल्याउने बताइसकेका छन् ।
स्कटल्यान्ड आउनुअघि ६ अंकसहित लिग २ को पुछारमा रहेको नेपाल दुई जितपछि सातौं स्थानमा उक्लेको छ । १४ खेलमा नेपालले १० अंक जोडेको छ । शुक्रबार नेदरल्यान्ड्समाथि विजय हात पारेपछि स्कटल्यान्डले १८ खेलबाट २२ अंक पुर्याएको छ । अमेरिका २८, नेदरल्यान्ड्स २६ र ओमान २४ अंकसहित शीर्ष तीन स्थानमा छ । आठ राष्ट्र सहभागी लिग २ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछ ।
यस शृंखलाको ४ खेलमा कम्तीमा ३ खेल जितेर स्कटल्यान्ड अंकतालिकाको शीर्षस्थानमा पुग्ने दाउमा थियो । तर, नेपालसँगको पहिलो खेलमै स्कटल्यान्डले नराम्रो झट्का बेहोर्नुपर्यो । नेपाललाई पराजित गरेमा स्कटल्यान्ड रनरेटमा ओमानलाई उछिन्दै तेस्रो स्थानमा उक्लने छ । स्कटल्यान्डले नेपाल र नेदरल्यान्ड्सविरुद्धको बाँकी दुई खेल जितेमा अझै शीर्षस्थानमा पुग्ने छ । नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्स विरुद्धका बाँकी २ खेल जितेमा नामिबियालाई उछिन्दै छैटौं स्थानमा पुग्ने छ । नामिबियाको १४ अंक छ ।
विजय हात पारेमा विदेशी भूमिमा पहिलो पटक शृंखला ‘क्लिन स्विप’ तर्फ नेपाली टोली अगाडि बढ्ने छ । लिग २ को अंकतालिकामा संघर्षरत रहे पनि स्कटल्यान्डविरुद्ध नेपालको पछिल्ला प्रदर्शनहरू निकै गहकिलो रहेको छ । ब्रिटिस टोलीविरुद्ध नेपाल पछिल्लो ५ खेलमा अपराजित छ । नेपालले स्कटल्यान्डविरुद्ध ५ खेलमध्ये ४ मा विजय हात पारेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
नेपालबाट कुशल भुर्तेल, करण र आरिफले अर्धशतक बनाइसकेका छन् । नेपालको उच्च लयलाई निरन्तर राख्न ओपनर आसिफ शेख, भीम शार्की र कप्तान रोहित पौडेलले ठूलो स्कोर बनाउन जरुरी छ । यहाँ आसिफ क्रमशः २० र १९, भीम ४० र ११ तथा रोहित ३७ र २३ रनमा आउट भएका थिए । मध्यक्रममा दीपेन्द्रसिंह ऐरी र गुलशन झाले फिनिसरको राम्रो भूमिका निभाइरहेका छन् । कप्तान रोहित प्रत्येक खेलसँगै आफ्नो टिम अगाडि बढ्ने बताउँछन् ।
स्कटल्यान्डले शुक्रबार नेदरल्यान्ड्समाथि संघर्षपूर्ण विजय हात पारेको थियो । पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ९७ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । मार्क वाट र साफ्यान सरिफले नवौं विकेटमा ९१ रनको साझेदारी गरेपछि स्कटल्यान्डले २६२–९ को स्कोर बनायो । जबाफमा आएको डच टोली ४५ ओभरमा २ सय १८ रनमै अलआउट भयो ।
नेदरल्यान्ड्सविरुद्ध देव्रेहाते स्पिनर ललित राजवंशी प्लेयिङ ११ मा फर्किएपछि नेपाली टोलीको बलिङ मजबुत बनेको छ । ललितले आफ्नो पहिलो बलमै नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसलाई आउट गरेका थिए । उनले ज्याक लियोन क्याचेटको पनि विकेट लिए । नेपालविरुद्धको खेलमा ब्याटिङका क्रममा घाइते भएका इडवार्डसबिना खेलेको नेदरल्यान्ड्सको ब्याटिङ स्कटल्यान्डसँग फितलो बनेको थियो ।
नेपालले मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेलेर यस लिग २ को यात्रा टुंग्याउने छ ।
प्रकाशित : २०८२ जेठ २६ गते ८:१४
Facebook Comment