स्कटिस खेलाडीले रन आउटको सेलिब्रेसन गर्दा अम्पाएरले दिए वाईड…………..अनि जित्यो नेपालले

NAWALPUR TIMES
प्रकाशित : २०८२ जेठ २१ गते १२:१४
स्कटिस खेलाडीले रन आउटको सेलिब्रेसन गर्दा अम्पाएरले दिए वाईड…………..अनि जित्यो नेपालले

कावासोती । विश्वकप लिग २ अन्तरगत नेपाल र स्कटल्यान्डबीच हिजो भएको खेल निकै रोमाञ्चक बन्यो । हारको संघारमा पुगेको नेपाललाई करण केसीले एक विकेटको अविस्मरणीय जित दिलाए ।

१९२ रनमा ७ विकेट गुमाएको अवस्थाबाट उक्सिएर नेपालले २९६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको थियो । करणले ६५ रनको विष्फोटक पारी खेले । गुल्शन र सन्दीप लामिछानेसँग उनको महत्वपूर्ण दुई साझेदारी भएको थियो । अन्तिम ओभरसम्म आइपुग्दा नेपाललाई सात रन चाहिएको थियो र दर्शकले जितको आभास गरिसकेका थिए । यद्यपि, अन्तिम ओभर नाटकीय बन्यो ।

ओभरको पहिलो बलमै सन्दीप आउट भए । एक रन लिएर करणलाई स्ट्राइकमा तान्न खोज्दा उनी प्वाइन्ट फिल्डरबाट क्याच भए, जसले नेपाललाई झट्का लाग्यो । खेलमा अर्को ट्विस्ट आयो । अन्तिम विकेटका लागि आए रिजन ढकाल, जो ‘टेल इन्डर’ मात्र हुन् ।

स्कटल्यान्डका स्पिनर मार्क वाटले पहिलो बल वाइड फ्याँके । दोस्रो बल रिजन ढकालले रन लिन सकेनन् । तेस्रो बलमा उनी एक रनका लागि दौडिन सफल भए । अब अन्तिम तीन बलमा ५ रन जोड्नुपर्ने चुनौती करण सामु आयो । अर्थात्, नेपाललाई उनको एउटा ठूलो सट चाहियो । करणले योभन्दा अगाडि ३ वटा छक्का प्रहार गरिसकेका थिए । अन्तिम ओभरको चौथो बलमा उनले स्ट्रेट सिक्स हान्ने प्रयास गरे । तर सफल भएनन् । बाउन्ड्री नजिक बल खस्यो र उनले दुई रन लिन भ्याए । अर्को बललाई स्वीप गर्दै करणले फेरि दुई रन निकाले र स्कोर भयो टाइ ।

अन्तिम बल नाटकीय भयो । नेपाललाई एक रन चाहिएको थियो । बलरले लेग स्टम्पबाहिर हानेको बललाई करणले फ्लीक गर्ने प्रयास गरे । बल ब्याटमा लागेन तर स्वभाविकरुमा ब्याटरहरु रनका लागि दौडिए । उनीहरूले रन पुरा नगर्दै स्कटिस विकेटकिपरको हातमा बल आइपुग्यो र उनले स्टम्प ढाले । रिजन ढकालले क्रिज छुन भ्याएका थिएनन् । स्कटिस खेलाडीहरू सेलिब्रेसन गर्न थाले । खेल बराबरीमा रोकिएको र सुपरओभरमा जाने भनेर उनीहरूले खुशी मनाएका थिए । नेपाली क्याम्पमा निराशा छायो । तर, यता अम्पायरले वाइडको इशारा गरिरहेका थिए ।

पछाडि हेर्दै दौडिरहेका करणले पनि सुरुमा खेल टाइ भएको नै ठानेका थिए । जब अगाडि हेरे, अम्पायरले दुई हात फैलाइरहेको देखे । त्यसपछि भने उनले ब्याट उठाएर सेलिब्रेसन भए । नेपाली क्याम्पमा हर्षोल्लास छायो । मैदानबाहिरबाट दर्शकहरू भित्र धुइरिएर करणलाई प्रेम दर्शाउन थाले । नदर्शाउन् पनि किन, जसले नेपाललाई हारबाट जोगाएर एउटा मिठो जित दिलाएका थिए ।

प्रकाशित : २०८२ जेठ २१ गते १२:१४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI