कावासोती । चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मधयवर्ती क्षेत्रमा चालु आ.वको आठ महिनामा २० वटा गैँडाको मृत्यु भएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आठ महिनाको अवधिमा प्राकृतिक कारणले २० वटा गैँडाको मृत्यु भएको हो । मृत्यु भएका २० मध्ये ५ वटा गैँडाका बच्चा रहेका उनले बताए ।
यो अवधिमा ७ वटा गैँडा कालगती तथा बुढो भएर मरेका हुन भने ३ वटा को मृत्युको कारण खुल्न नसकेको थापाले बताए । थापाका अनुसार ३वटा गैडा अन्य जनावरको आक्रमणमा परेको छन ती मध्ये २ वटा लाई बाघले र एउटा बच्चा गैँडालाई अर्को गैँडाले थिचेर मारेको हो । मरेका २० मध्ये ४ वटा गैँडा एक आपसमा जुध्ने क्रममा घाईते भएर मृत्यु भएको र ३ वटा गैँडा नारायणीको बाढीले बगाएर मृत्यु भएको थापाले बताए ।
चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मधयवर्ती क्षेत्रमा आव ७५–७६ मा ४३ वटा, ७६–७७ मा २६ वटा, ७७–७८ मा ३५ वटा, ७९–८० मा २० वटा र ८०–८१ मा २१ वटा गैँडाको प्राकृतिक कारणले मृत्यु भएको तथ्यांक छ ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा बुढो भएर, अन्य जनावरको आक्रमणमा परेर, आपसमा जुधेर तथा बाढीले बगाएका कारणले गैँडाको प्राकृतिक मृत्यु भएको हो । चोरीसिकार नियन्त्रण हुँदै गर्दा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढे जस्तो देखिएको छ । “अहिले मरेका गैँडालाई अस्वाभाविक नै मान्न सकिँदैन तर पनि गैँडा एकपछि अर्को मर्दै जानु चिन्ताको विषय हो”, वरिष्ठ संरक्षण अधिकृत डा. पन्तले भने ।
पछिल्ला केही वर्ष यता निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा चोरी शिकारीको कारणले गैँडा मर्ने क्रम भने रोकिए को छ , ७४–७५ मा १ वटा, ७७–७८ मा ४ वटा र ७८–७९ मा २ वटा गैँडा चोरी शिकारीका कारण मरेका थिए । त्यस यता निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा चोरी शिकारीको कारणले गैँडा मरेका छैनन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार गैँडाको संखया बढदै जाँदा बाढी तथा आपसमा जुध्दा गैँडाको मृत्यु भएको हो । “गैँडा मात्रै होइन, कुनै पनि प्राणीको जन्म र मृत्यु स्वाभाविक मान्नु पर्छ तर पश्च्मि सेकटरमा जुधेर तथा बाढीको कारणले गैँडाको मृत्यु भएको विषयलाई नजिकबाट अध्ययन गरिरहेका छौं”, आचार्यले भने ।
पश्चिम सेक्टरमा करिब एक सय वटा गैँडा समस्यामा परेको सन २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनको प्रतिवेदनले समेत देखाएको र जलबायु परिवर्तन, मानवीय गतिविधीका कारण नदि साघँुरिनु, वन भित्रका पोखरी सुक्दै गएर दलदल बन्नु पनि गैँडाको प्राकृतिक मृत्युको कारण रहेको आर्चायले बताए । पश्च्मि सेक्टरमा गैँडाको संखया धेरै भएको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा पश्चिम सेक्टरबाट १० वटा गैँडा पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो । “गैँडाको प्राकृतिक मृत्यु घटाउन स्थानान्तरण गरेर अर्को स्थानमा लैजान सकिन्छ, स्थानान्तरणको आवश्यकता पनि छ तर तत्काल यो विषयमा विभागले निर्णय भने गरेको छैन ।”, आर्चायले भने ।
पछिल्लो गणना अनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन् । यसमध्ये चितवन निकुञ्जमा मात्रै ६९४ वटा गैँडा छन् । चितवनका अलावा पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा पनि गैँडा रहेका छन् ।
प्रकाशित : २०८१ चैत ३ गते १३:१४
Facebook Comment