बजेट अभावमा रोकियो गैँडा गणना

रासस
प्रकाशित : २०८१ चैत १ गते ९:१३
बजेट अभावमा रोकियो गैँडा गणना

कावासोती । हरेक पाँच वर्षमा हुँदै आएको गैंडा गणना यो वर्ष नहुने भएको छ । यही ५ गतेदेखि गणना शुरू गर्ने तय भएकोमा आर्थिक अभावका कारण रोकिएको हो । विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)को सहयोग रोकिँदा यस वर्षको गैंडा गणना कार्य प्रभावित भएको छ । दाताको भरमा गैंडा गणना कार्य हुँदै आएको थियो ।

गैंडा गन्न झन्डै डेढ करोड रुपैयाँ खर्च हुन्छ । त्यसमा जीपीएस उपकरण, ल्यापटप, टेन्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको झन्डै ५० लाख रुपैयाँ खर्च यूएसएआईडीले बेहोर्ने सहमति थियो ।

सरकारले गैंडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष दाताबाट आर्थिक सहायता नपाएपछि गणना कार्य रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । सम्भव भएसम्म निकुञ्जका पोस्टमार्फत एक–एक गैंडाको सङ्केतका आधारमा अवस्था पहिचान गर्ने उनले बताए ।

चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा एक सिङ्गे गैंडा पाइन्छन् । अघिल्लो गणना सन् २०२१ का अनुसार सात सय ५२ वटा गैंडा थिए । त्यसमा सबैभन्दा धेरै चितवनमा ६ सय ९४ वटा, बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन वटा एक सिङ्गे गैंडा रहेका पाइएको थियो । गणनाबाट कुन क्षेत्रमा कति गैंडा छन् यकिन हुने र त्यसैअनुसार व्यवस्थापनमा सहज हुन्छ ।

यसपालि गैंडा र अर्को वर्ष बाघ गन्ने कार्यक्रम थियो । सहयोग रोकिँदा बाघ गन्ने कार्यक्रमसमेत प्रभावित हुन सक्ने चिन्ता रहेको विभागका महानिर्देशक डा कँडेलले बताएका छन ।

 

प्रकाशित : २०८१ चैत १ गते ९:१३

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI