कावासोती । चोर भनी प्रतिकार गर्ने क्रममा छोराको मृत्यु भएको घटनामा मकवानपुर प्रहरीले बाबुआमालाई नै अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर भ्लोन र आमा ६३ वर्षीया देवीमायाले चोर भनी प्रतिकार गर्ने क्रममा घाइते भएका ३९ वर्षीय भरतकुमार भ्लोनको उपचारको क्रममा गत फागुन १६ गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो । भ्लोन दम्पत्ति पनि प्रतिकारको क्रममा घाइते भएका थिए । भ्लोन दम्पत्तिको भक्तपुरको प्रहरीको निगरानीमा उपचार भइरहेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि थप अनुसन्धान गर्न भ्लोन दम्पतीलाई जिल्ला प्रहरी कार्यालय हेटौंडामा बुधबार ल्याइएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं डीएसपी श्यामु अर्यालले बताए ।
बिहीबार बेलुका ८ बजेतिर मिनबहादुर र देवीमाया खाना खाने तयारी गर्दै थिए । त्यति नै बेला मुखमा माक्स लगाएका एक युवक छिरेर भ्लोन दम्पत्तिलाई खुर्सानीको धुलो आँखामा हाल्न फालेका थिए । खुर्सानीको धुलो फालेपछि दम्पतीलाई पनि चोर आएको शंका भयो र उनीहरु पनि प्रतिकारमा उत्रिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी एवं प्रवक्ता अर्यालकाअनुसार दम्पतीले भान्सामा जे–जे भेटिन्छ त्यहीले चोरमाथि प्रहार गरेका थिए । अन्धाधुन्ध आक्रमण भएपछि मास्कधारी व्यक्ति पनि बुढाबुढीमाथि जाइलागे । दुई पक्षबीच भीडन्त भयो । अन्ततः दम्पतीले चोरलाई नियन्त्रणमा लिएर बाँधेर प्रहरीलाई खबर गरे । प्रहरी पुग्दा चोर भनिएका व्यक्ति रक्ताम्य अवस्थामा थिए । टाउकोबाट पनि रगत बगिरहेको थियो । मिनबहादुरको हात, मुख र टाउकोमा चोट देखिएको थियो । देवीमायाको आँखा र हातमा चोट लागेको थियो ।
प्रकाशित : २०८१ फागुन २२ गते ११:५९
Facebook Comment