कावासोती ।ठेकेदार कम्पनीले सम्झौताअनुसार काम नगर्दा बुटवल–नारायणगढ सडक विस्तारको कामले गति लिन सकेको छैन । १ सय १४ किलोमिटर लामो यो सडकको ठेक्का लागेको ५ वर्ष ५ महिनामा ५४ प्रतिशत मात्रै काम भएको छ । जसले गर्दा यो खण्डमा यात्रा गर्ने यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन् ।
सम्झौताअनुसार काम भएको भए बुटवलबाट नारायणगढ सडक खण्ड विस्तारको काम दुई वर्ष पहिले नै सम्पन्न भइसक्नुपर्ने हो । तर ठेकेदारको चरम लापरबाहीको कारण पुग्न तीन घण्टा लाग्ने यो सडक खण्डको यात्रा गर्न अहिले ६ घण्टा लाग्ने गर्छ ।
अझ यो खण्डको दाउन्ने खण्डमा धूलो र खाडलले गर्दा यात्रा निकै कठिनाइ हुने गरेको रुपन्देही खैरहनीका देवबहादुर थापाले गुनासो गरे । ‘धूलो र खाडलले कतिबेला दुर्घटनामा परिन्छ, थाहा हुँदैन । बस्ती भएको ठाउँमा मात्र पानी हाल्ने रहेछ,’ उनले भने, ‘सबैभन्दा बढी धूलो र दुर्घटना हुने दाउन्ने खण्डमा ठेकेदार र सरकारी पक्ष कसैको पनि ध्यान गएको छैन ।’
यात्रु मात्र होइन, यो सडक खण्ड आसपासका स्थानीयले धूलो र हिलोका कारण सास्ती खेपिरहेका छन् । व्यवसाय गरेर बसेकाहरू मास्कबिना बस्न सक्ने अवस्था छैन । यो सडकको अवस्था देखेर काठमाडौंबाट बुटवल आउजाउ गर्ने यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्दा व्यापार व्यवसायमा समेत असर पुगेको कावासोतीमा इभि चार्जिङ सेन्टर संचालन गरिरहेका विष्णु अधिकारी बताउँछन् ।
‘सडकको अवस्था राम्रो हुने हो भने २ घण्टामा पार गरिने बुटवल–नारायणगढ सडक खण्ड पार गर्न अहिले ५ देखि ५ घण्टा लाग्छ,’ उनले भने, ‘सकेसम्म यो सडक भएर यात्रा गर्न कोही चाहँदैन । वैकल्पिक मार्ग भएर हिँड्ने गरेका छन् । यो सडकको अवस्था जीर्ण हुँदा व्यापार व्यवसायमा समेत निकै असर पुगेको छ ।’इकान्तिपुरबाट
प्रकाशित : २०८१ पुष २४ गते ११:५६
Facebook Comment