‘एलिमिनेटर’ मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स

NAWALPUR TIMES
प्रकाशित : २०८१ पुष ३ गते ८:३६
‘एलिमिनेटर’ मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स

कावासोती । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग उत्तरार्धतिर लम्किएको छ । प्रारम्भदेखि नै एकपछि अर्को अप्रत्याशित नतिजाले चर्चाको शिखरमा पुगेको एनपीएलको पहिलो संस्करण चार खेलमात्र बाँकी रहँदा थप रोमाञ्चक मोडमा पुगेको छ ।

प्रतियोगितामा बुधबार चितवन राइनोज र कर्णाली याक्सबिच ‘एलिमिनिटर’ खेल खेलिँदै छ । उक्त खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ । यो खेलमा चितवन राइनोज र कर्णाली याक्स दुवै ‘गर वा मर’को स्थितिमा रहने छन् ।

जारी एनपीएलमा आठ टोलीको सहभागिता रहेको थियो । प्रारम्भिक चरणको समाप्तिपछि लिग तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्ले अफ चरणमा पुग्ने प्रावधान थियो । पहिलो र दोस्रो स्थानमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्ने तथा तेस्रो र चौथो स्थानमा रहने टोलीले ‘एलिमिनेटर’ खेल्ने प्रावधान रहेको थियो ।

सोही अनुरुप चितवन राइनोज र कर्णाली याक्सबिच ‘एलिमिनेटर’ खेल खेल्न लागिएको हो । यो खेलमा पराजित हुने टोली स्वतः उपाधि होडबाट बाहिरिने छ । तर, यो खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि थप एउटा अवसर प्राप्त गर्नेछ ।

अर्थात, ‘एलिमिनेटर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा पराजित हुने टोलीसँग दोस्रो ‘क्वालिफायर’ खेलमा भिडन्त गर्न पाउने छ । दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीसँग उपाधिका लागि भिडन्त गर्नेछ ।

त्यसैले बुधबार खेलिने ‘एलिमिनेटर’ खेलमा चितवन राइनोज र कर्णाली याक्स दुवै दबाबमा रहने पक्का छ । चितवन राइनोज प्रारम्भिक चरणको खेलमा तेस्रो हुँदै प्रतियोगिताको प्ले अफ चरणमा प्रवेश गरेको हो । चितवन राइनोजले सात खेलबाट कुल आठ अङ्क बटुल्यो ।

चितवन राइनोजले सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो । चितवन राइनोजले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो ।

चितवन राइनोज आफ्नो तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा चितवन राइनोजले बलियो सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजयको स्वाद चखाएको थियो । पाँचौँ खेलमा चितवन राइनोज लुम्बिनी लायन्ससँग ३३ रनले हारेको थियो ।

आफ्नो छैटौँ खेलमा चितवन राइनोज विराटनगर किङ्ससँग ५१ रनले पराजित भएको थियो । पहिलो चरणको अन्तिम खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले हराएको थियो । तालिकाको पहिलो स्थानमा आसीन सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा आसीन जनकपुर बोल्ट्सजस्ता बलिया प्रतिद्वन्द्वीलाई हराएको चितवन राइनोजको मनोबल बुधबारको खेलमा निकै उच्च रहने छ ।

अर्कोतिर, कर्णाली याक्स आठ अंकसहित चौथो हुँदै प्रतियोगिताको प्ले अफ चरणमा पुगेको हो । कर्णाली याक्सले सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकाल्यो । कर्णाली याक्स आफ्नो पहिलो खेलमै जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा पनि कर्णाली याक्स काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । त्यसपछि लयमा फर्किएको कर्णाली याक्सले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले र चौथो खेलमा विराटनगर किङ्सलाई सात रनले हराएको थियो ।

यसैगरी, कर्णाली याक्सले आफ्नो पाँचौँ खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले र छैटौँ खेलमा लुम्बिनी लायन्सलाई पाँच रनले हराएको थियो । आफ्नो अन्तिम खेलमा कर्णाली याक्स बलियो सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।

कर्णाली याक्स प्ले अफ चरणमा स्थान बनाउने अन्तिम टोली पनि हो । कर्णाली याक्सले प्ले अफ चरणमा पुग्न ठुलै सङ्घर्ष गर्नु परेको थियो । कर्णाली याक्स र काठमाडौँ गुर्खाजको अङ्क बराबर थियो । त्यसैले अन्तिम खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ५५ रनभन्दा ठुलो अन्तरले पराजित भएको भए काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने अवस्था थियो ।

यसैगरी, प्रारम्भिक चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमै विजयलक्ष्य प्राप्त गरेको भए पनि कर्णाली याक्स उपाधि होडबाट बाहिरिने थियो र काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने थियो । तर, अन्तिम समयमा काठमाडौँ गुर्खाजलाई जिल्याउँदै कर्णाली याक्स राम्रो नेट रन रेटका आधारमा प्ले अफ चरणमा पुग्न सफल भयो ।

त्यसैले जारी एनपीएलमा कर्णाली याक्स भाग्यमानी टोली पनि हो । यसका अतिरिक्त प्रारम्भिक चरणको खेलमा एकपटक चितवन राइनोजलाई हराइसकेकाले पनि बुधबारको ‘एलिमिनेटर’ खेलमा कर्णाली याक्सको मनोबल निकै उच्च रहने छ ।

प्रारम्भिक चरणको खेलमा कर्णाली याक्सको सफलतामा भारतका स्टार ब्याट्सम्यान शिखर धवनको पनि महत्त्वपूर्ण योगदान रहेको थियो । तर, उनी केवल चार खेल खेलेर स्वदेश फर्किएका छन् । कर्णाली याक्सका लागि उनको अनुपस्थिति कमजोर पक्षका रूपमा रहने छ ।

जारी एनपीएलमा कर्णाली याक्स राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सोमपाल कामीको कप्तानीमा रहेको छ । टोलीमा देब खनाल, अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो, वेस्ट इन्डिजका ब्याट्सम्यान चाडविक वाल्टन, राष्ट्रिय टोलीका प्रभावशाली गुलसन झा, ओमानका अलराउन्डर जिसन मक्सुद, नन्दन यादब, विपिन शर्मालगायतका प्रभावशाली खेलाडी छन् ।

यसैगरी, चितवन राइनोज पनि राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी कुशल मल्लको कप्तानीमा रहेको छ । चितवन राइनोजमा अफगानिस्तानका ओपनर ब्याट्सम्यान हसन इशाखिल, इङ्ल्यान्डका चर्चित अलराउन्डर रवि बोपरा, नामिबियाका अलराउन्डर जन निकोल लफ्टी एटन, पाकिस्तानका बायाँहाते तिब्रगतिका बलर सोहेल तनवीर, अमर रौतेला, विपिन रावल, सन्तोष कार्की, रिजन ढकालजस्ता प्रभावशाली खेलाडी छन् ।

प्रकाशित : २०८१ पुष ३ गते ८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI