कावासोती । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेको छ । मंगलबार बिहान त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले विराटनगर रोयल्सलाई पराजित गरेको हो ।
सुदूरपश्चिमको यो पहिलो जीत हो भने विराटनगर लगातार दोस्रोपटक पराजित भएको हो । आफ्नो पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो ।
विराटनगरका लागि बसिर अहमतले सर्वाधिक २४ रन बनाए । त्यसैगरी राजेश पुलामीले १५ रन बनाउनबाहेक अरूले दोहोरो अंकरमा रन बनाउन सकेनन् ।
स्कट कुग्गेलैनले सर्वाधिक तीन विकेट लिए ।
त्यसपछि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित १८३ रनको विशाल स्कोर तयार गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रन बनाएको थियो । प्रतियोगिताको एकै इनिङ्समा हालसम्म बनेको यो नै सबैभन्दा धेरै रन हो । यसअघि तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुरले दुई विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।
इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबिच छैटौँ विकेटको लागि ४९ रनको बलियो साझेदारी भएपछि सुदूरपश्चिम प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउन सफल भएको हो । दीपेन्द्रले २४ बलमा तीन चौका र पाँच छक्कासहित अविजित ५७ रन बनाए । उनी अनिलकुमार शाहपछि अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी हुन् ।
छैटौँ नम्बरमा आएर १६ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाएका इशान पाण्डेलाई अनिल खरेल र विकेटकिपर लोकेश बमले रनआउट गराए ।
सुदूरपश्चिमका लागि स्कटल्यान्डका खेलाडी ब्रान्डन म्याकमुलेनले २६ बलमा समान दुई चौका र छक्कासहित ३६ रन बनाए । अनुभवी ओपनिङ ब्याटर विनोद भण्डारीले २० बलमा चार चौकासहित २३ रन जोडे ।
इंग्ल्यान्डका सेफ जैब १५ बलमा एक छक्कासहित १४ रन बनाए । तीनै खेलाडीलाई अनिल खरेलले आउट गरेका थिए । न्युजिल्यान्डका ३२ वर्षीय स्कट कुगेलेइनले १० रन जोडे । यसअघि ओपनर अमित श्रेष्ठ एक रनमै आउट भएका थिए । आरिफ शेख पनि नौ रनमै आउट भएका थिए ।
आज नै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
Facebook Comment