यूएईविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल : जितेर मात्रै पुग्दैन रनरेटमा अगाडी आउनु पर्ने चुनौती

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २८ गते ९:३६
यूएईविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल : जितेर मात्रै पुग्दैन रनरेटमा अगाडी आउनु पर्ने चुनौती

कावासोती । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै छ । विश्वकप छनोटको निर्णायक खेलका रुपमा रहेको यस खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

दुबईमा दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेल नेपालले रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्‍न आवश्यक छ । यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जीत र १ हारसहित ८ अंक जोडेको नेपाल दोस्रोमा छ ।

आज हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन, रनरेटमा पनि अगाडि आउनुपर्ने छ । पहिले ब्याटिङ गरेर १४० रन बनाएको अवस्थामा २१ रन वा बढीको अन्तरले खेल जित्नुपर्ने छ । त्यस्तै यूएईले पहिले ब्याटिङ गरेको अवस्थामा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ । यीभन्दा कम अन्तरको जीत हासिल गरेपनि नेपाल रनरेटमा पछाडि पर्दै दोस्रोमै सीमित भएर विश्वकप खेल्नबाट वञ्चित हुने छ ।

हालसम्म अपराजित रहेको यूएईलाई रनरेटमा समेत पछि पार्दै हराएमा नेपाल पहिलोपटक आइसिसी यु-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुने छ । यसपटक कप्तान पुजा महतो उत्कृष्ट लयमा देखिएकी छन् । त्यस्तै प्रदर्शन आजको खेलमा अन्य खेलाडीबाट पनि हुन सके नेपाली अन्डर-१९ महिला टोलीले पहिलोपटक विश्वकप खेल्ने छन् ।

नेपालले थाइल्याण्ड र कुवेतलाई दुवै भेटमा फराकिलो अन्तरले हराएको छ । त्यस्तै यूएईले पनि दुवै टोलीलाई हराउँदा नेपाललाई १३ रनले हराएको थियो ।

प्रकाशित : २०८१ कार्तिक २८ गते ९:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI