कावासोती । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मोटर साइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अभियान सुरु गरेको छ ।
ठूलो आवाज आउने गरी मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिए ।
प्रमुख बन्जाराका अनुसार स्वरुप परिवर्तन गर्ने १४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको छ । मोटरसाइकल चालकले साइलेन्सर, ह्याण्डल, लाइटलगायतका पार्टपुर्जा परिवर्तन गर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
सामान्य पार्टपुर्जा परिवर्तनलाई पाँचदेखि सातसय रुपियाँ जरिवाना गरेर पठाउने गरिएको छ । ठूलो परिवर्तन गरेकाहरुलाई यातायात कार्यालय पठाउने गरिएको प्रहरी निरीक्षक बन्जराले बताए ।
यातायात कार्यालयले विना अनुमति स्वरुप परिवर्तन गरेर चलाईएका मोटरसाइकल धनिलाई पाँचदेखि सात हजार रुपियाँसम्म जरिवाना गर्ने गरेको छ । यातायात कार्यालयको अनुमतिविना मोटरसाइकलको स्वरुप परिवर्तन गर्न पाइँदैन ।
प्रकाशित : २०८१ कार्तिक १५ गते १३:०९
Facebook Comment